प्रधानसेनापति श्रीलंका र मालदिभ्स जाँदै

काठमाण्डु टुडे २०७० माघ १४ गते १:२४ मा प्रकाशित

GAURAV-SHUMSHER-RANA_20120913092545काठमाण्डु, १४ माघ – प्रधानसेनापति गौरवशम्शेर जबरा साताब्यापी  श्रीलंका र मालदिभ्सको भ्रमणका लागि मंगलबार त्यसतर्फ जाँदैछन् ।

माघ १५–१७ सम्म मालदिभ्स र माघ १८ –२३ गतेसम्म श्रीलंकाको भ्रमण गर्न उनी माल्दिभ्स प्रस्थान गर्न लागेका हुन् ।

मालदिभ्सका राष्ट्रिय सुरक्षा फौजका प्रमुख अहमद सियाम तथा श्रीलंकाली सेना प्रमुख आरएमडी रत्नायकेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राणा ती देशको भ्रमणमा  जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति राणाले श्रीलंकामा आयोजना हुने ६६ औं राष्ट्रिय स्वतन्त्रता दिवसको परेड तथा देयता किरुला नामक राष्ट्रिय प्रदर्शनी कार्यक्रममा सम्मानित अतिथिका रुपमा भाग लिनेछन् । ती दुवै मुलुकमा नेपाली सेनाका प्रमुखको औपचारिक रुपमा हुन लागेको यो पहिलो भ्रमण हो ।

श्रीलंकामा रहँदा राणाले त्यहाँका स्थल, वायु तथा प्रतिरक्षा फौजका प्रमुख, रक्षा सचिवसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नाका साथै त्यहाँको सेनाद्वारा प्रस्तुत परेडको अवलोकन गर्ने निर्देशनालयले जनाएको छ ।

त्यस्तै मालदिभ्स भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, रक्षामन्त्री र प्रतिरक्षा फौजका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिका साथ भ्रमण टोलीमा उपरथी राजेन्द्र क्षेत्री र सेनानी गेलाङ लामा रहनेछन् । भ्रमणका क्रममा प्रधानसेनापति राणाले दुवै देशका सेनाप्रमुखसँग तालिम, अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य र विपद् व्यवस्थापन र सहयोग आदानप्रदानका बारेमा छलफल गर्ने सेनाका प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले बताए ।

भ्रमणका क्रममा हुने छलफलले दुई देशबीचका सेनाको पारस्परिक एवम् परराष्ट्र सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका ३९ जनाले श्रीलङ्कामा र श्रीलङ्काका १७ जनाले नेपालमा सैन्य तालिम लिएका छन् । त्यस्तै मालदिभ्सका एक  सैनिकले नेपालमा र नेपाली सेनाका दुई जनाले मालदिभ्समा तालिम गरिरहेको बताइएको छ ।

दुवै मुलुकको भ्रमण सकेर नयाँदिल्ली हुँदै प्रधानसेनापति राणा माघ २४ गते स्वदेश फर्कनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us