सहिद माथेमाप्रति श्रद्धाञ्जलि

काठमाण्डु टुडे २०७० माघ १३ गते ९:०३ मा प्रकाशित

dhramabhaktaकाठमाण्डु, १३ माघ – सहिद सप्ताहअन्तर्गत सोमबार सहिद धर्मभक्त माथेमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ । काठमाण्डु महानगरपालिकाले सिफलमा आयोजना गरेको कार्यक्रममा सहिद माथेमाले अमरत्व प्राप्त गरेको स्मरणमासालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरिएको हो ।

तत्कालीन जहानियाँ राणा शासकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा १९९७ माघ १३ गते माथेमालाई सिफलमा मृत्युदण्ड दिएका थिए ।

कार्यक्रममा बोल्दै काठमाण्डु महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न सहिद माथेमाले गरेको जीवनको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको भन्दै जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताए ।

माथेमा समाज गुठीका अध्यक्ष सुरेन्द्र माथेमा र सहिद माथेमाकी छोरी रेणु माथेमा श्रेष्ठले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गर्दै सहिद माथेमाको नामबाट सामाजिक संस्था स्थापना गर्न सरकारलाई आग्रह गरे ।

काठमाण्डु महानगरपालिकाको समन्वयमा सम्पन्न सो कार्यक्रममा महानगरपालिकाका विभिन्न कर्मचारी, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्लगायतको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us