संविधान लेख्न डायरी उपहार

काठमाण्डु टुडे २०७० माघ ११ गते ११:५० मा प्रकाशित

Sindhuकाठमाण्डु ११ माघ – सिन्धुपाल्चोक जन्मघर र काठमाण्डुलाई कर्मथलो बनाएका सिन्धुपाल्चोकबासीको संगठन सिन्धुमिलन केन्द्रले एक वर्ष भित्र जनतालाई संविधान लेखेर दिन डायरी उपहार दिएका छन् ।

सिन्धुपाल्चोकका सभासदलाई एक वर्ष भित्र संविधान लेखेर समग्र बिकासमा केन्द्रित हुन सुझाव दिदै शनिवार काठमाण्डुको गोकर्णमा आयोजित बनभोज कार्यक्रममा डायरी उपहार दिएका हुन् ।

एकीकृत माओवादीका प्रवक्ता तथा सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित सभासद अग्नी सापकोटा र एमालेका तर्फबाट समानुपातिक तर्फकी सभासद पेम्बा लामा ह्योल्मोलाई केन्द्रले डायरी उपहार दिएको हो ।

‘स्वतन्त्रता र समृद्धिका लागि संबिधान निर्माणमा केन्द्रित हुनेछौ’ प्रवक्ता सापकोटाले कार्यक्रममा भने ‘मजदुर किसानको हक अधिकार संस्थागत हुने गरी संबिधान निर्माणमा लाग्नेछौ ।’

एमालेकी सभासद होल्मोले पनि एक बर्ष भित्र संबिधान निर्माणका लागि आफनो तर्फबाट पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा स्थानीय कलाकारहरुले दुवै सभासदलाई संविधान लेखेर समग्र बिकासमा केन्द्रित हुन गीतकै माध्यमबाट सुझाव दिएका थिए ।

कायक्रममा एमाले सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल,सिन्धु मिलन केन्द्रका पूर्व अध्यक्ष गृवेन्द्र नेपाल र बाबा बस्नेत लगायतले सिन्धुपाल्चोक जन्मघर भएर काठमाण्डुलाई कर्मथलो बनाएका सिन्धुपाल्चोकबासीलाई सिन्धुपाल्चोकको बिकासमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. ३ का सभासद शेरबहादुर तामाङ पनि उपस्थित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us