फिल्म सुटिङ केन्द्र बन्दै सुर्खेत

काठमाण्डु टुडे २०७० माघ ११ गते ६:०२ मा प्रकाशित

सुर्खेत, ११ माघ – पछिल्लो समय सुर्खेतलाई फिल्म सुटिङ केन्द्रकै रुपमा लिन थालिएको छ । फिल्म निर्माताहरुका नजरमा यहाँका पर्यटकीय स्थलहरु, डाँडापाखा र उपत्यका पर्न थालेका छन् ।

सुरुमा विभिन्न टेलिसिरियल र साना पर्दाका चलचित्रको छायाङ्कन हुने सुर्खेतमा पछिल्लो समय थुप्रै ठूलो पर्दाका चलचित्रको छायाङ्कन हुन थालेको छ । अहिले यस क्षेत्रकै निर्माता र बाहिरी जिल्लाका निर्माता तथा निर्देशकका आँखा सुर्खेती भूमिमा पर्न थालेका छन् ।

‘बस्ती मलाई खोजिरहेछ’, ‘सनाई रोइरहेको छ’ जस्ता टेलिसिरियलबाट छायाङ्कनको ढोका खुलेको सुर्खेतमा यहाँकै फिल्म निर्माता डाक्टरसिंह गुरुङले बन्धकी, बाटुलीजस्ता ठूला पर्दाका फिल्म सुर्खेतमै छायाङ्कन गरेपछि अन्य छलचित्र व्यवसायीहरुले पनि सुर्खेतलाई रोज्न थालेका हुन् ।

विशेषगरी यहाँको प्राकृतिक सौन्दर्यले आफूहरुलाई तानेको निर्माताहरुको भनाइ छ । केही निर्माताहरुले त सुर्खेतको जस्तो सुटिङस्थल नेपालका अन्य कुनै स्थानमा नभएको बताउने गरेका छन् ।

चलचित्र लफङ्गाको छायाङ्कन गर्न सुर्खेतमा रहेका निर्देशक बिएस बलामी (बाबु बलामी) ले त सुर्खेतजस्तो छायाङ्कनका लागि सबै मिलेको ठाउँ नेपालमा कहीँ नभएको दाबी गरे । ‘मैले नेपालका तराई क्षेत्र, पहाडी क्षेत्र सबै स्थानमा फिल्मको छायाङ्कन गरेको छु,’ निर्देशक बलामीले भने, ‘सुर्खेतमा यस्ता ठाउँ छन्, छायाङ्कनका लागि त्यस्ता ठाउँ नेपालमा अन्त कहीँ पाइँदैन ।’

सुर्खेतको लाटीकोइलीमा रहेको बुलबुले ताल, पश्चिममा पर्ने भेरी र कर्णाली नदीको दोभान, यहाँको गढी गाविसबाट हेर्दा देखिने उपत्यकाको चित्रलाई निर्माता बलामीले नेपालमा अन्य कुनै ठाउँमा नपाइने स्थानका रुपमा लिएका छन् ।

‘पोखरा पनि फिल्मका लागि राम्रो ठाउँ हो, पोखरामा ताल र हिमालमात्रै छन्, तर सुर्खेतमा जे खोजे पनि पाइँदोरैछ,’ निर्देशक बलामीले भने, ‘यसले गर्दा मैले सुर्खेतमै फिल्म निर्माण गर्न लागेको हुँ ।’ यहाँको काँक्रेविहार भग्नावशेष रहेको वन क्षेत्र, हिमालका दृश्यहरु देख्न सकिने सुर्खेत र दैलेखको सिमाना, गढी, कट्कुवा, भेरी र कर्णाली नदी, बुलबुले उद्यान, घण्टाघरलगायत फिल्म सुटिङका लागि उपयुक्त क्षेत्र हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us