भोलेनाथ प्रवृत्ति त्याग्न प्रचण्डलाई सुझाव

काठमाण्डु टुडे २०७० माघ १० गते १३:१० मा प्रकाशित

Prachanda-and-renu-chandकाठमाण्डु, १० माघ– गएको संविधानसभा बैठकमा अनपेक्षित पराजय भोगेपछि पहिलो पटक काठमाण्डुमा बसिरहेको एमाओवादी केन्द्रीय समिति बैठकमा हरेक दिन कुनै न कुनै नेताले नयाँ नयाँ विषय उठाएर माहौल तताउने गरेका छन् ।

बैठकको आठौं दिन शुक्रबार केन्द्रीय सदस्य रेणु चन्द बैठकमा सहभागीको ध्यान आफूतर्फ तान्न सफल भइन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा समर्थन जनाएकी उनले शीर्ष नेताहरुको आलोचना गर्ने क्रममा प्रचण्डलाई पनि छाडिनन् । चन्दले प्रचण्डमा रहेको उदारवाद पार्टी विग्रनुको मुख्य कारण रहेको बताइन् ।

चन्दले प्रचण्डमा भगवान महादेवमा पाइने भोलेनाथ प्रवृत्ति हावी रहेको भन्दै आवश्यक पर्दा महादेवको ‘रौद्र’ रुप धारण गर्न सल्लाह दिइन् । ‘तपाईंमा महादेवको भोलेनाथ रुप हावी भयो,’ प्रचण्डतर्फ इंगित गर्दै चन्दले भनिन्, ‘सधैं तथास्तु मात्रै भन्ने होइन, आवश्यक पर्दा महादेवको रौद्र रुप धारण गर्नुस् ।’

उनले नेता बाबुराम भट्टराईको पनि चर्को आलोचना गरिन् । भट्टराईले समय सन्दर्भसँग मेल नखाने कुरा गरेर पटक पटक पार्टीमा किचलो झिक्ने गरेको आरोप उनले लगाइन् ।

भट्टराईले उठाउँदै आएको विषय पार्टीमा सधैं अल्पमतमा पर्ने गरेको दावी गर्दै चन्दले ‘जसको विचार उसको नेतृत्व’को नारा पनि धेरै दिन नटिक्ने टिप्पणी गरिन् । ‘कि त हामीलाई आफ्नो कुरामा कन्भिन्स गर्नुस्,’ चन्दले भट्टराईलाई भनिन्, ‘होइन भने असान्दर्भिक कुरा गरेर किचलो झिक्ने तरिका बन्द गर्नुस् ।’

यस्तै शुक्रबारको बैठकमा पूर्वपोलिटब्युरो सदस्य लोकेन्द्र बिष्ट मगरले पार्टी नसच्चिए अर्को चुनावमा पाँच सिट पनि नआउने भन्दै मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव दिए । lokendra bista magar

उनले पार्टीमा काम गर्नेको भन्दा नगर्नेको राम्रो मुल्यांकन हुने गरेको भन्दै सच्याउन माग गरे । ‘हाम्रो पार्टीमा कुमारहरु पाखा पर्ने र गणेशहरुले बाजी मार्ने प्रवृत्ति हावी भएको छ,’ बिष्टको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘पार्टीमा काम गर्नेको सही मूल्याङ्कन भएन ।’ बिष्टले उपत्यकामा जिम्मेवारी भएका बाहेक सबै केन्द्रीय सदस्य गृह जिल्ला जानुपर्ने बताए ।

पार्टीका नेताहरु सुकिला मुकिला भएर काठमाण्डु बस्ने गरेका कारण जनतासँगको सम्बन्ध टुटेको र सोही कारण निर्वाचनमा पार्टी पराजित भएको भनाइ उनको थियो ।

‘हामी अरुलाई सुकिला मुकिला भनेर गाली गर्छौं, वास्तवमा हामी आफैं काठमाण्डु बसेर सुकिला मुकिला भएका छौं,’ बिष्टले भने, ‘पर्यटक भएर काठमाण्डु बस्नु भएन, पार्टी बनाउने हो भने सबै गाउँ जानुपर्‍यो ।’ उनले कांग्रेस एमाले भन्दा एकीकृत माओवादी फरक भएको आधार जनतामा दिन नसके पार्टीको भविश्य समाप्त भएर जाने चेतावनी पनि दिए ।

यस्तै नेतृ अन्जना विशंखेले तीन शीर्ष नेतालाई मिलेर अघि बढ्न सुझाव दिइन् । उनले प्रचण्डमा उदारता, जसले दबाबमूलक तरिकाबाट कुरा राख्यो उसैबाट प्रभावित हुने समस्या रहेको बताइन् ।

नेता बाबुराम भट्टराई एकाङ्की चरित्रको भएको भन्दै विशंखेले आफ्ना विचार राख्दा पार्टी संगठन र पद्धति नभुल्न सुझाव दिइन् । यस्तै नेता नारायणकाजी श्रेष्ठ प्रचारमा रमाउने गरेको  भन्दै त्यस्तो शैलीले पार्टीलाई हानी पुर्‍याएको बताइन् ।

शुक्रबारको बैठकमा नेताहरु बिष्ट, चन्द र विशंखेसहित विश्वनाथ साह, भक्तबहादुर शाह, एनके प्रसाईं, असर्फी सदा, कृष्ण धिताल, खिमलाल देवकोटा, अशोक जैशवाल, पेशल खतिवडा, पीएल वाइवा लगायतले बोलेका थिए ।

बैठकमा शुक्रबारसम्म ९८ जनाले प्रचण्डको प्रतिवेदनमाथि धारणा राखेका छन् । बोल्नेक्रम सकिएकाले बैठक दुई दिनका लागि स्थगित गरिएको छ । अर्को बैठक आगामी मंगलबार बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us