मोवाइल सुरक्षामा चुनौती

काठमाण्डु टुडे २०७० माघ १० गते १३:०४ मा प्रकाशित

काठमाण्डु,– सूचना र प्रविधिको विकासका क्रममा इन्टरनेटसहितको मोवाइलको बढ्दो प्रयोगसँगै बाह्य अतिक्रमण बढ्दै गएकाले यसको सुरक्षा नै प्रमुख चुनौतीको विषय बन्न पुगेको छ ।

हाल नेपालमा कुल जनसंख्याको ७२.७ प्रतिशतले मोवाइल, २६.९३ प्रतिशतले इन्टरनेट, १३ लाखले एन्ड्रोइड, तीन लाखले आइफोन र एक लाखले विन्डोज फोन प्रयोग गर्ने गरेको प्रमाणीकरण नियन्त्रक कार्यालयका नियन्त्रक लक्ष्मीप्रसाद यादव बताउँछन् ।

मोवाइलको साथै आफ्ना सुविधा तथा आवश्यकताअनुसार विभिन्न उपकरणको प्रयोग पनि बढ्दै गएकाले  मोवाइलको सुरक्षामा चुनौती थपिएको यादव बताउँछन् ।

व्यक्तिगत तथा कार्यालयको प्रयोजनका लागि पनि मोवाइललगायतका उपकरणमा निर्भरता बढ्दै गएको अवस्थामा त्यसमा रहेका महत्वपूर्ण सूचना, इमेल र सेवाग्राहीको विवरण तथा अन्य विवरण हराउने, अनाधिकृत व्यक्ति वा समूहले त्यस्ता सूचनामा आफ्नो पहुँच पुर्‍याई हानी पुर्‍याउँछन् ।

त्यस्तै उपकरणहरूलाई हानी पु¥याउने र सूचना चोर्ने उद्देश्यले बनाइएका भाइरस र स्पाइवेरजस्ता खराब सफ्टवेयरले पनि समस्या पैदा गर्छन् ।

यस्ता समस्याबाट बच्न सकभर मोवाइल नहराउन सावधानी अपनाउने, आइफोन ओएसलाई अद्यावधिक गर्ने, मोवाइलभित्र राखिएका वा बाहिर पठाइएका डाटा तथा महत्वपूर्ण सूचनालाई सांकेतिकरूप दिन थाहा नभएका सञ्जाललाई नजोड्ने, थाहा नभएका इमेल नखोल्ने, अनावश्यक उपकरण नचलाउने र कसैबाट आफ्नो मोवाइलको दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्नुपर्नेमा नियन्त्रक यादवको जोड छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us