‘छ एकान छ’ फिल्म युटुवमा राखेपछि …

काठमाण्डु टुडे २०७० माघ १० गते ११:४३ मा प्रकाशित

chha-ekan-chha-posterकाठमाण्डु, माघ – उत्साहजन ब्यापार गरिरहेको नेपाली फिल्म ‘छ एकान छ’ युटुवमा अपलोड गरेको अभियोगमा एक युवालाई प्रहरीले गिरफ्तार गरेको छ ।

फिल्मको करिव ५० मिनेटको अंश युटुवमा अपलोड गरेपछि निर्माण पक्षको उजुरीका आधारमा काभ्रे भिमखरी स्थायी घरभइ काठमाण्डुको स्युचाटार निवासी २२ वर्षिय सन्दिप मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

३ दिन अघि सो फिल्मको केही अंश युटुवमा अपलोड गरेका मगरलाई विद्युतीय कारोबार र प्रतिलिपि अधिकार ऐनअन्तर्गत कारबाही हुनसक्ने महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुवोध घिमिरेले जानकारी दिए । फिल्मको सो अंश शुक्रबार युटुवबाट हटाईएको छ ।

पक्राउ परेका युवाले भने आफूलाई कानुनी कुरा थाहा नभएको बताएका छन् । प्रहरीसँगको प्ररम्भिक बयानमा मगरले आफूलाई कानुनी कुरा केही थाहा नभएकाले युटुवमा राखेको बताए ।

यता निर्माण पक्षले भने पक्राउ परेका मगरविरुद्ध कडा कारबाहीको माग गरेको छ । ‘प्रहरीले उजुरी दिएको केही समयमा नै उसलाई पक्रिएको छ, निर्मात्री दिपाश्री निरौलाले काठमाण्डु टुडेसँग भनिन्, ‘हामी उसलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’ राम्रो ब्यापार गरिरहेको फिल्म युटुवमा अपलोड हुनु दुःखको कुरा भएको उनको भनाइ छ ।

‘यस्तै हो भने त नेपालमा कसले फिल्म बनाउँछ ?’ उनको प्रश्न छ । साथै निर्मात्री निरौलाले यस्ता गविविधि तत्काल रोकिनुपर्ने माग गरिन् ।

साथै नायक तथा निर्माता दिपकराज गिरीले फिल्मको केही अंश युटुवमा अपलोड गरेपनि त्यसमा पूरै कथा नखुलेकाले ठूलो क्षति नहुने विश्वास व्यक्त गरे ।
२६ पुसमा रिलिज भएको यस फिल्मले नेपाली हलहरुमा अझै उत्साहजनक ब्यापार गरिरहेको छ ।

हालसम्म करिव २ करोड रुपैयाँ संकलन भइसकेको निर्मात्री निरौलाले बताईन् । ‘छ एकान छ’ फिल्म हेर्न हलहरुमा अझैपनि दर्शक नघटेको नायक तथा निर्माता दिपकराज गिरीको भनाई छ ।

‘हिन्दी फिल्महरुमाभन्दा बढी दर्शक हाम्रोतर्फ आकर्षित छन्, गिरीले भने, ‘शुक्रबार रिलिज भएको (जय हो)लाई पनि नेपाली हलहरुमा हामीले पछि पारेका छौं ।’

दिनेश डिसीले निर्देशन गरेको यस फिल्ममा नायिका निता ढुंगानासहित तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका चर्चित हास्य कलाकारहरुले अभिनय गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us