अस्ट्रेलियामा बितेका पल

काठमाण्डु टुडे २०७० माघ १० गते २:२५ मा प्रकाशित

biteka-palनेपालमा पुस २६ गतेबाट प्रदर्शन भईरहेको चलचित्र बितेका पल अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । विहीबार साँझ अस्ट्रेलियाको नेपाली टच नामक कम्पनीलाई ७ लाख ५१ हजारमा अस्ट्रेलियामा प्रदर्शनको अनुमति दिइएको निर्माता राजेश घतानीले बताए ।

सम्झौता पत्रमा बिग मुभिज प्रोडक्सनका तर्फबाट घतानी र नेपाली टचका तर्फबाट बबी लामाले हस्ताक्षर गरेका छन् । अस्ट्रेलियाको सिड्नीमा फेब्रुअरी १५ मा चलचित्र प्रदर्शन हुने नेपाली टच प्रमुख दिपेश पुनले बताए ।

यसका साथै चलचित्र बितेका पल यहि फेब्रुअरीबाट युरोपको १० शहरमा प्रदर्शन हुने छ भने मलेसिया, इजरायल, कोरिया र कतारमा पनि प्रदर्शन गरिने निर्माता घतानी बताउँछन् । बिदेशबाट अत्यधिक माग आएकोले पालैपालो सबै देशहरुमा प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ । यसअघि अमेरिकामा प्रदर्शन भैसकेको बितेका पल अब दार्जिलिंग, सिक्किम, असाम लगायतका ठाउँमा पनि प्रदर्शन गर्ने तैयारी भैरहेको निर्माता घतानीले बताए ।

घतानीले क्रीष रिजालसँग मिलेर निर्माण गरेको यस चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । बाबु बोगटी, केकी अधिकारी र अभिनाश गुरुङको मुख्य भूमिका रहेको बितेका पललाई सत्यकथामा आधारित चलचित्र भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us