दोस्रो दिन पनि नीजि विद्यालय ठप्प

काठमाण्डु टुडे २०७० माघ १० गते १:४५ मा प्रकाशित

chitwan mapचितवन, १० माघ–नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु)ले गरेको बन्दका कारण शुक्रबार दोस्रो दिन पनि चितवनका नीजि विद्यालयहरु खुल्न सकेका छैनन् । पूर्वसहमती कार्यान्वयन नगरेको भन्दै ईष्टु चितवनले विहीबारदेखि चितवनका नीजि विद्यालयहरु अनिश्चितकालिन बन्द आह्वान गरेको हो ।

बार्ताबाट समस्याको निकास खोजी विद्यालयहरु सुचारु गराउने प्रयास भए पनि प्याब्सनको अडानका कारण सहमति जुट्न नसकेको नेपाल ईष्टु चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले जानकारी दिए । जिल्ला शिक्षा कार्यालय, प्याब्सन र संस्थागत विद्यालय अविभावक संघबीच संयुक्त रुपमा छलफल भए पनि शुल्क निर्धारणको खाका नआएसम्म तत्काल ईष्टुले उठाएका मागहरु सम्बोधन गर्न नसकिने प्याब्सनले अडान लिएपछि सहमति जुट्न नसकेको उनको भनाइ छ ।

पूर्वसहमति कार्यान्वयनका लागि प्याब्सनले १५ दिनको समय माग गरेको थियो । पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी रहेकाले सो समयाबधिसम्म पनि पर्खन नसक्ने ईष्टुको अडान छ ।

जिल्ला शिक्षा कार्यालयको रोहबरमा प्याब्सनसँग भएको १८ प्रतिशत तलब बृद्धि र १ हजार रुपैयाँ महंगी भत्ता उपलव्ध गराउनुपर्ने सम्झौता लागु गर्न ईष्टुले माग राखेको छ ।

ईष्टुको आन्दोलनका कारण चितवनका डेढ सय भन्दा बढि विद्यालयका झण्डै ८ हजार विद्यार्थीहरु पढ्नबाट बन्चित भएका छन् । एसएलसी परीक्षा आइरहेकोबेला विद्यालय बन्द हुँदा पढ्न नपाएको विद्यार्थी र उनका अभिभावकहरुको गुनासो छ  ।

सरोकारवालाहरुले भने शिक्षाजस्तो पवित्र क्षेत्रमा आन्दोलन गरि विद्यालय नै बन्द गर्नु भन्दा समस्या समाधानका लागि फरक बाटो अपनाउन सुझाव दिएका छन् ।

नेपाल ईष्टुले यसअघि पनि चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us