
काठमाण्डु, ७ माघ – ६२ वर्षीय प्रेमीले छाडेर हिँडेपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिला बिचल्लीमा परेकी छिन् । छोराको आशा गरेका प्रेमीले छोरी जन्मिने यकिन भएपछि छाडेर हिँडेको उनको भनाइ छ ।
छोरा पाउने आशामा २५ वर्षीया प्रेमिका लक्ष्मी सिवाकोटीलाई गर्भवती बनाएका ६२ वर्षीय सुरेश भण्डारी प्रेमिकालाई छाडेर फरार भएका हुन् । अस्पतालको न्युु वर्न वार्डको ३०७ नम्बर बेडबाट भण्डारीलाई फोन लगाउँदैमा लक्ष्मी हैरान भएकी छिन् । उनका अनुसार काठमाण्डु बत्तिसपुतली घर भएका भण्डारीकी पहिली श्रीमतीतर्फ ६ छोरी छन् ।
सुविधानगरस्थित एक गैरसरकारी संस्थाका सल्लाहकारसमेत रहेका भण्डारीले दोलखा पवटी–७ की लक्ष्मीलाई सोही संस्थामा जागिर लगाइदिएका थिए । पछि उनीसित लसपस गरेर गर्भवति बनाएका थिए, उनले छोरा जन्मेपछि घरमा भित्र्याउँछु भन्दै उनलाई फकाइ फुल्याई गरिरहेका थिए ।
अघिल्लो वर्ष फागुनमा सो संस्थामा काम गर्न छिरेकी आफूलाई प्रेमजालमा पारी वैशाखमा गर्भवती बनाएको लक्ष्मीले बताइन् । त्यसपछिको खाने बस्ने व्यवस्था र गर्भपरीक्षणको व्यवस्था पनि सुरेशले नै गरिदिँदै आएको उनको भनाइ छ ।
पछिल्लोपटक १५ दिनअघि गर्भ जाँचका क्रममा भिडियो एक्सरे गरेपछि भण्डारी आफूसँग टाढिँदै गएको लक्ष्मीको आरोप छ । ‘म गर्भवती भएपछि थापागाउँमा मासिक चार हजार तिर्ने गरी उहाँले नै कोठा खोजिदिनुभएको हो ।
महिना बढ्दै गएपछि जागिर छोडाएर खाने खर्च पनि उहाँले नै व्यवस्था मिलाउनुभएको हो । १५ दिनअघिसम्मको भेटमा सुत्केरी स्याहारका लागि सुसारेको व्यवस्थासमेत गरिसकेको भन्नुभाथ्यो,’ लक्ष्मीले भनिन्, ‘तर त्यो भिडियो एक्सरेपछि उहाँ टाढिँदै जानुभयो । उहाँले यो गर्भको सन्तान मेरो होइन भन्न थाल्नुभयो । सायद गर्भमा छोरी रहेको थाहा पाउनुभयो होला ।’
पहिले दिनभरजसो आफ्नो कोठामा आएर बस्ने सुरेश त्यसपछि आउन छाडेको लक्ष्मीले बताइन् । ‘उहाँ आउन छाडेपछि मैले गाउँबाट सानिमा बोलाएँ, हिजो (आइतबार) बिहान ६ बजे बेथाले च्यापेपछि ट्याक्सी लिएर यहाँ (अस्पताल) आयौँ, त्यसपछि १२ बजे त छोरी जन्मिइहाली,’ सँगै सुतेकी छोरीतिर हेर्दै उनले भनिन् ।
सुत्केरी हुने दिन नजिकिँदै जाँदा सुरेशले आफ्नो सन्तान नभएको जिकिर गर्न थालेपछि लक्ष्मीले नेपाल प्रहरीको महिला सेल कालिमाटीमा उजुरी दिएकी थिइन् । गत शुक्रबार दुवै पक्षलाई महिला सेलले बोलाएको थियो ।
तर, सुरेशले आफ्नो सन्तान नभएको त्यहाँ पनि दोहोर्याएको लक्ष्मीले बताइन् । महिला सेलकी इन्चार्ज सुशीला प्रधानले भनिन्, ‘एउटाले हो भन्छ अर्कोले होइन भन्छ । आवश्यक प्रमाण अभाव देखेपछि हामीले दुवैलाई अदालत जान भन्यौँ ।’
लक्ष्मीकी सानीआमाले सुरेशले खोजिदिएको कोठाका घरबेटी र वरपरका छिमेकीलाई पनि उनीबारे थाहा हुनसक्ने बताइन् । उनले ६ जना छोरी पाइसकेका बाबुसमानको मान्छेले प्रेम प्रस्ताव राख्दा ठाडो इन्कार गर्न नसक्नु आफ्नी छोरीको गम्भीर गल्ती भएको उल्लेख गर्दै अन्तिममा सुरेशले धोका दिनु अपराध भएको बताइन् ।
पछिल्लोपटक शनिबार फोनमा सम्पर्क भएको र त्यसवेला पैसा दिएर केस मिलाउन प्रलोभन दिएको फोन रेकर्ड भएकोसमेत सिवाकोटीकी सानीआमाले दाबी गरिन् । ‘पाँच लाख दिन्छु, यो केस नउचाल भनेका छन्, तर मैले मानिनँ ।
किनकि मलाई अहिले पैसाको लोभ होइन, यो नानीको न्वारान गर्न बाबु चाहियो ।’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘गाउँकी सोझी केटी देखेर पैसाको प्रलोभन दिएका हुन, तर हामीले पैसा लिएर यो बच्चालाई कहाँ लिएर जाने ?’ नयाँ पत्रिका दैनिकबाट