बाबुरामले गरे संग्रौलाको उपचार !

काठमाण्डु टुडे २०७० माघ ७ गते ७:५० मा प्रकाशित

Baburam-sangraulaकाठमाण्डु, ७ माघ – नयाँपत्रिका दैनिकमा खगेन्द्र संग्रौलाले आफ्नो बारेमा लेखेको लेखप्रति एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराइले फेसबुकमार्फत प्रतिक्रिया जनाएका छन् ।

कम्युनिष्ट आन्दोलनलाई बिसर्जन हुन लागेको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै भट्टराईले आफू त्यसको उपचारको खोजीमा रहेको बताएका छन् ।

पढ्नुहोस् खगेन्द्र संग्रौलाको लेखमाथि बाबुरामको प्रतिक्रिया

आदरणीय खगेन्द्र संग्रौलाज्यू,

‘तपाइँको म एक नियमित पाठक र प्रशंसक हुँ । आजको ‘नयाँ पत्रिका’ मा तपाइँको लेख “बाबुरामका त्यागको रंग” पढेर आभार सहित केही लेख्दैछु ।

baburam status ‘ कवि करोति काव्यानी, रसम् जानति पण्डिता:’ भने झैं हामी सार्वजनिक जीवनमा रहेकाहरुको कर्मबारे मूल्याँकन गर्ने जिम्मा आम प्रबुध्द नागरिकहरुको हो, त्यसको म सम्मान गर्छु । तर भनिन्छ जे देखिन्छ त्यो सबै सत्य हुँदैन र जे सत्य हुन्छ त्यो सबै देखिदैन । त्यसैले सत्यको अन्वेषण गर्नेले अंशको भरमा भन्दा समग्रतामा जोड दिनु पर्ने हो कि ?

बाबुरामले  आत्मविज्ञापन ‘ को लागि मात्रै त्यागको कुरा गरेको हो कि भन्ने आशंका गर्नुभएको रहेछ ।

तर बाबुराम क्रान्तिकारी आन्दोलनमा लाग्नु भन्दा पहिले नै चर्चामा रहिसकेको पात्र हुुनाले क्रान्तिको जोखिमपूर्ण बाटोमा उ चर्चाकोनिम्ति नभएर देश, जनता र समाजकोनिम्ति त्याग र वलिदान गर्न अग्रसर भएको हो भन्नु बढी तथ्यपरक नहोला र ?

तपाइँले उठाउनु भएका सबै कुराहरुको स्पष्टीकरण यहाँ अहिले दिन सम्भव नभएकाले कुनै अरु वेला चर्चा गरौंला ।

एउटा कुरा विचार गरिदिनुहोला – झण्डै ४० बर्षको क्रान्तिकारी आन्दोलनको अनुभव पछि कम्युनिष्ट आन्दोलन गम्भीर विसर्जनको मोड़मा पुगेको देखेर बाबुराम यतिवेला असाध्यै चिन्ताका साथ सही उपचारको खोजीमा छ ।’

बाबुरामबारे ‘बाबुरामका त्यागका रंग’ शीर्षकमा खगेन्द्र संग्रौलाले लेखेको लेख यस्तो छ :

अतिशय लोभ र अगस्ती भोगको सरुवा रोगले हाम्रो जीवन जिउने यो जगत् आक्रान्त छ । र नै त जगत्मा त्यागको महिमा अपरम्पार छ । सिद्धार्थ गौतमलाई जीवनका अनेकथरी दु:ख देखेर चौपट्टै बिरक्त लाग्यो र कष्टसाध्य साधनाबाट दु:ख निवारण गर्ने जुक्ति खोज्न उनले गृहत्याग गरे । रुढिगत परम्पराको बांगे लौरो टेकेर बासी बाटोमा लुखुरलुखुर हिँड्ने सनातनी जीवनमा त्यो त्याग भयंकर विद्रोह थियो । उनी राजाका छोरा थिए । उनलाई नपुग्दो केही थिएन । सुकसुकाउँदो पुत्र थियो र सुन्दरी पत्नी थिइन् । तर, सिद्धार्थलाई यी कुनै पनि चिजको मोहले रोक्न सकेन । जुगौँ बितेर गए, तैपनि पछि कठोर यत्नद्वारा ज्ञान प्राप्त गरेर बुद्ध कहलिएका सिद्धार्थ गौतम मानिसका अन्तरमनका आदरभाव राख्ने पन्तुरामा निरन्तर जीवित छन् । लाग्छ, यो सम्झनामा मुख्यतया त्यागको अजम्बरी शक्ति निहित छ ।

भारतका महात्मा गान्धीले आफ्नो आँगन कब्जा गरिबसेका उपनिवेशवादी फिरिंगीहरूलाई खेदेर आफ्नो रैथाने सत्ता जिते । तर, जित्दा नजित्नै उनले त्यो सत्ता त्याग गरिहाले । शासन, आसन र स्वादिलो रासनको लालसाले गान्धी बाबालाई सत्ताको सम्मोहनकारी खोपीतिर एकरत्ती खिच्न सकेनन् । र नै त जगतैभरि उनको हाईहाई भयो । दक्षिण अफ्रिकाली नेल्सन मन्डेलाको कथा पनि ख्याल आकर्षक छैन । तिनले आफ्नो राजनीतिक विश्वास र मूल्यका लागि संघर्षशील जीवनका कठिन पलहरूमा आफूलाई हात र साथ दिने पत्नी बिनी मन्डेलालाई त्यागे । त्यसो त कहिल्यै नझुकी, कहिल्यै नथाकी स्वतन्त्रताको लामो बाटो हिँड्ने ती बिरल पथिकले एक छिमल राष्ट्रपति भएपछि सदाका लागि त्यो पद त्याग गरिदिए । यी र यस्ता त्यागी विकारग्रस्त जीवनपथका प्रेरणादायी प्रकाश हुन् । वास्तवमा यस्ता त्यागी अतिशय लोभ, अनुचित लाभ र अगस्ती भोगबाट प्रदूषित हाम्रो जीवनका धोबीहरू हुन् ।

हाम्रो आफ्नै इतिहासमा थरीथरीका पात्रका परिपरिका त्यागका कथा पढ्न पाइन्छ । जंगबहादुरले भाइ बमबहादुर राणालाई प्रधानमन्त्री बनाएर पहिले पद त्याग गरे, र पछि आफूले त्यागेको पद र्‍याल चुहाउँदै आफैँ खोसे । कतिपय गोर्खे राजभक्त प्रजा बिलासवीर त्रिभुवनलाई कत्ति न ठूला त्यागी मान्छन् । त्रिभुवन निरंकुश राणाशाहीका अरौटे राजा थिए । सन्तानब्बे सालमा चार स्वतन्त्रताप्रेमी वीरहरूको एकबारको जुनी सिध्याउने लालमोहरलाई सदर गर्ने उनै ‘त्यागी’ त्रिभुवन त थिए । निज त्रिभुवनले पहिले सुइत्त भागेर भारतीय दूतावासमा टाउको लुकाउँदै राजगद्दी त्याग गरे, पछि दिल्लीबाट फर्केर आफूले त्यागेको गद्दीमा ङिच्च हाँस्दै आफैँ बसे । लाज लागेन । उनै त्रिभुवनले दिल्लीबाट फर्केर संविधानसभाको चाँजो मिलाउने बाचा गरे । पछि थुकेको थुक खाँदै उनले आफ्नो बाचा आफैँ त्याग गरे । यसरी बाचा गर्ने र गरिएको बाचालाई आफ्नै हातले अँठ्याएर मार्नेहरू हाम्रो मुलुकको कुरूप राजनीतिक इतिहासमा कति छन् कति †

त्यागका कुरा उठ्दा सानका साथ अहिले मेरो मनमा झ्याट्ट उदाए डाक्टर बाबुराम भट्टराई । त्यागका पर्यायसरहका मिस्टर भट्टराई । भट्टराईको त्यागका अनेक आयाम छन्, र छन् नानाभाँती रंगहरू । तसर्थ भट्टराईको त्याग सिरियललाई क्वाँटी सिरियल भने पनि हुन्छ । अलि वर्षयता भट्टराईका त्यागको चर्को चर्चा छ । यिनले त कसोकसो त्यागको डबली नै कब्जा गरेझैँ लाग्छ । एउटा त्यागको चर्चा लोकको स्मृतिबाट ओझेल पर्न पाउनु छैन, भट्टराईका मुखारविन्दबाट फुत्त अर्को त्याग निस्किहाल्छ । मानिस आश्चर्य प्रकट गर्छन्– गाँठ्ठे † डाक्टसाहेबका चित्तको अक्षय झोलीमा कतिवटा त्याग लुकिबसेका होलान् ?

विस्मयकारी त्यागबाट सुरु भयो बाबुरामको त्यागको कथा । उनले नाटकीय ढंगले आफ्ना ‘नेताहरूका नेता’लाई त्याग गरे र कुद्दै गएर उनी धोबीघाटमा हाजिर भए । अर्का नेता नारानकाजीले सुमुसुमु उनका पाइला पछ्याए । सूर्य पश्चिमबाट उदायो । कहिल्यै नमिल्ने यी दुई भाइको हित्तचित्त गजपले मिल्यो । यिनका वचनको अर्थ नियाल्दा यी दुई कमरेड धोबीघाट धाउनुको अभिप्राय ननिको थिएन । यी धोबीघाटमार्गी कणका केही साझा गुनासा थिए । अर्थात् आफ्ना ‘नेताहरूका नेता’ले पार्टीको सबै अधिकार कब्जा गरे । र, सबै स्रोत–साधनमाथि निजको एकाधिकार भयो । आफ्ना भागमा न भनेजस्तो राजनीतिक भूमिका छ, न छ चुनदाम स्रोत–साधन नै । उपाध्यक्ष त भन्नु मात्रै । जब धोबीघाट मिलनको नतिजा आयो, विषय–प्रसंगले अर्कै अर्थ ग्रहण गर्‍यो । किरण वैद्यले यता बाबुरामको गलोमा प्रस्तावित प्रधानमन्त्रीको पगरी गुथाइदिए, उता काजीको गलोमा उपप्रधानमन्त्रीको पगरी । एकबारको जुनी हो, खोजेको अनमोल चिज पाएर दुवै कमरेड मखलेल भए । अल्लिअघि यिनको कुरो एउटा थियो, अल्लिपछि यिनका तालुमा फल अर्कै फल्यो । यो नाटकरूपी जीवनको रहस्यमय मञ्चन हो †

एउटा त्यागलगत्तै अर्को त्यागको रचना भयो । वैद्य कमरेडका करकमलबाट बाबु र काजीले सत्तापथको पगरी गुथे, र तिनले तत्काल धोबीघाटे वैद्यलाई त्यागिदिए । र, कुद्दै पुगे यी दुई कमरेड उनै परित्यक्त ‘नेताहरूका नेता’का द्वारमा । कमरेडद्वयलाई वैद्यले टीका लगाइदिए, तर तिनलाई दक्षिणा मिलाइदिने हैसियत ‘नेताहरूका नेता’मै थियो । तसर्थ ती उनै ‘नेताहरूका नेता’छेउ टुप्लुक्क हाजिर भए । त्यस घडीमा ‘नेताहरूका नेता’ भयंकर नैतिक संकटमा परे हुनन् सायद । धोबीघाटे प्रस्ताव स्वीकार गरूँ, मन मान्दैन । स्वीकार नगरूँ, आफू पदलोलुप देखिने खतरा छ । र नै होला उनले मुटुमाथि ढुंगा राखेर भनिदिए– तथास्तु ।

त्यागको बहुरंगी लहरोमा मुस्ताङ म्याक्स जोडिन आयो । प्रधानमन्त्री बाबुरामले विदेशी र विलासी बाहन छुँदै नछोई थपक्क त्यागिदिए । र, रोजे उनले स्वदेशी र किफायती मुस्ताङ म्याक्स । केहीले बाबुरामलाई गिज्याए, धेरैले उनको प्रशंसा गरे । तर, हेर्दै जाँदा लोकले बाबुरामको दैनिकीमा त्याग र रवाफबीच द्वन्द्व देख्यो । र, यी दुईमध्ये कुन प्रधान हो र कुन गौण हो भन्न गाह्रो पर्‍यो । बाबुरामकै इच्छाले होला सायद, बालुवाटार दरबारको पटांगिनीमा कुम्भमेला भन्न सुहाउने चियापान सम्पन्न भयो । मिडियाको स्वभावै छिद्रान्वेषी, त्यसले चियापानको बहानामा कंगाल देशको राज्यकोषको सत्ताइस लाख रुपैयाँ स्वाहा भयो भनी डंक पिटिदियो । डंक पिटान सुन्दै बालुवाटार दरबार मौन रह्यो ।
लाग्छ, बाबुरामको मनोरचना विशिष्ट खालको छ । र नै उनलाई लाग्दो हो– लोकमानसमा आफ्नो त्यागको स्मृति हरपल जीवन्त रहनुपर्छ ।

एउटा स्मृति धमिलिन लाग्यो कि अर्को स्मृति रचिहाल्नुपर्छ । नभन्दै उनले रचे । उनले उपाध्यक्ष पद त्यागे । र, बाँकी जीवनमा आफू कदापि शक्ति र लाभको पदमा नबस्ने कसम खाए । उनका भित्री अभिप्राय के थियो म जान्दिनँ । उनका शब्दले भनेको कुरा खसोखास यही हो । राजनीतिमा बाबुरामको उपयोगिता छँदै थियो । त्यसैले उनी जोगी पो होलान् कि भनेर लोक चिन्तित भयो । अनि सुनियो त्यागको अर्को धमाका । यो एमाओवादी चुनावमा खुम्चिएपछिको कुरा हो । खुम्चाइको कारणबारे बाबुराम निधार मुजा पार्दै घोत्लिए । र, उनले ऐलान गरे– खुम्चाइको जड कारण ‘नेताहरूका नेता’ हुन् । तसर्थ उच्च नेतृत्वमा ‘नेताहरूका नेता’को अब मिति पुग्यो । अब पालो मेरो । ‘जसको विचार उसैको नेतृत्व ।’ त्यागका पर्याय बाबुरामका वचन सुनेर जगत् जिल पर्‍यो । र, कसैले उनलाई प्वाक्क पदलोलुप भनिदियो । जब त्यो सुने, बाबुराम रन्थनिए । र, उनले हत्तपत्त उद्घोष गरे– ममाथि पदलोलुपताको अभियोग सरासर झूट हो ।

म देख्छु, बाबुरामको दु:ख उनका चित्तको अभिप्राय र त्यो अभिप्राय प्रकट गर्ने शब्दको चयनमा छ । यहाँ पनि देखियो । उनका शब्दमा उनी किञ्चित् पदलोलुप देखिएकै हुन् । तर, उनले भने– म त त्यस्तो होइन दाइ, मिडियाले बद्नाम गरायो । अनि प्रतिरक्षाको मोर्चामा खडा हुँदै उनले घोषणा गरे– संविधान नबनुन्जेल म कुनै पदमा बस्दिनँ । बाबुवाणी सुनेर संसार हाँस्यो । र, शून्य आकाशमा एउटा यक्ष प्रश्न झुन्डियो– अनि संविधान बनेपछि नि ?

बाबुरामको किस्ताबन्दी त्यागको अभिनय अनन्त छ ! यस्तो लाग्छ, मानौँ चित्तको पिँधमा त्याग्ने चिज ट्याक्क तयार नहुँदा कहिलेकाहीँ बाबुराम संकटमा पर्छन् । र, के त्यागूँ, के त्यागूँ भएर उनी त्याग्नै नमिल्ने चिज त्यागिदिन्छन् । यस्तै मनोदशामा होला सायद, बाबुराम वागमती किनारका सुकुमवासीहरूलाई बुल्डोजर लगाएर त्याग्न विवश भए । यो त्यागमा बाबुरामका चित्तको वास्तविक अभिप्राय के थियो म जान्दिनँ । तर, कर्मको चरित्रमा भने उनको यो त्याग वर्गत्याग बन्नपुग्यो ।

त्यागी बाबुराम दु:खी मानिस हुन् । लाग्छ, उनी छविजन्य वेदनाबाट पलपल पीडित रहन्छन् । कतै लोकले मलाई बिर्सला कि ? चर्चाको बजारमा म कतै हराउँला कि ? कतै मेरो चमकदार छवि धूमिल पो होला कि ? र नै होला, आफ्ना यी चिन्तालाई समन गर्न बाबुराम त्याग गरिरहन्छन् । त्याग सिरियलमा बाबुराम कहिले इतिहासको हिरोजस्ता लाग्छन्, कहिले जोकरजस्ता ।

जिज्ञासुजनहरू यत्रतत्र मलाई सोध्छन्– के बाबुरामको त्याग साधन र आत्मविज्ञापन साध्य हो ? मलाई थाहा छैन । कसलाई थाहा छ, मलाई त्यो पनि थाहा छैन । लेख साभार : नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us