वीरगन्ज सुन तस्करीको ‘ट्रान्जिट’ बन्दै

काठमाण्डु टुडे २०७० माघ ७ गते ४:०५ मा प्रकाशित

पर्सा, ७ माघ–वीरगन्ज यतिबेला सुन तस्करीको ट्रान्जिट बन्दै गएको छ । पछिल्लो समयमा वीरगन्जमा पटकपटक अवैध सुन पक्राउ परिरहेको घटनाले पनि यसलाई पुष्टि गरेको छ । भारतले सुन आयातमा कडाइ गरेपछि चीनबाट भन्सार छलेर भित्र्याएको सुनको ठूलो परिमाण वीरगन्ज नाका हँुदै भारततर्फ पठाउने गरिएको सुन कारोबारीहरु बताउँछन् ।

उनीहरुका अनुसार काठमाडौँबाट वीरगन्ज सबैभन्दा नजिक भएको र सीमावर्ती भारतीय सहर रक्सौल भारतका मुख्य सहर जोड्ने ब्रोडगेज रेल्वे सञ्जालसँग जोडिएकाले पनि सुन कारोबारीले सबैभन्दा बढी यो नाकालाई नै प्रयोग गर्दै आएका छन् ।

तीन महिनायता करिब सात किलोग्राम अवैध सुनसहित तीन जनालाई प्रहरीले वीरगन्जवाट पक्राउ गरेको छ । पक्राउ परेका सबै सुन बोक्ने भरिया मात्र भएका प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । मुख्य कारोबारीलाई प्रहरीले अहिलेसम्म समात्न सकेको छैन ।

गत पुस २६ गते एक किलो ७०० ग्राम सुनसहित प्रहरीले पर्सा बगही गाविस–३ जगरनाथपुर बस्ने रामनाथ साह सोनारका छोरा २२ वर्षीय सन्दीप सरार्फलाई पक्राउ गरेको थियो । यसअघि पुस ३ गते काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको ना ४ ख २५२४ नम्बरको रात्रिबसका चालक दिनेश चौधरीको शरीरबाट वीरगन्ज भित्रिने मुख्य नाका गण्डकमा चेकजाँच गर्दा प्रहरीले चार किलोग्राम सुन बरामद गरेको थियो भने गत कात्तिक ५ गते प्रहरीले शरीरमा लुकाएर सीमावर्ती भारतीय सहर रक्सौल लैजाने क्रममा एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ती सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयामा पठाएको थियो । पक्राउ परेका सबैले आफू भरिया मात्र भएको दाबी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

‘प्रहरीले अनुसन्धान कार्यलाई प्रभावकारी नबनाएको कारण नै मुख्य कारोबारी पक्राउ पर्न नसकेको हो,’ सुन व्यवसायीहरु भन्छन्, ‘सुन बुझाउँदा आकर्षक प्रोत्साहन रकम आउने भएकाले पनि मुख्य कारोबारीबारे प्रहरीले धेरै चासो लिने गरेको छैन ।’

सुराकी र कमिसनको रकम लिनका लागि प्रहरीले अनुसन्धानलाई प्रभावकारी नबनाई पक्राउ परेका भरियालाई तत्काल राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया पठाउने गरेको दाबी स्रोतको छ । अवैध सुन बरामद गरी राजस्व वा भन्सार बुझाउँदा प्रहरीले सुराकी र कमिसन गरी ३५ प्रतिशत प्रोत्साहन रकम पाउँछन् ।

पक्राउ परेका भरियाको बयानका आधारमा हामीले कारबाही अगाडि बढाउने हो, पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले भने, ‘पक्राउ परेकाले मुख्य कारोबारीको नाम बताउने गरेका छैनन् । नाम बताएमा प्रहरीले तत्काल त्यस्ता कारोबारीलाई पक्राउ गरेर कानुनको दायरामा ल्याउनेछ ।’ प्रहरी उपरीक्षक सिंहका अनुसार वीरगन्जमा १२ वटाभन्दा बढी सुन कारोबारी रहेको सूचना प्राप्त भएको छ, तीमध्ये केही ठूला घरानाका सदस्यले पनि सुनमा लगानी गरेका छन् । त्यस्ता सुन कारोबारीमाथि निगरानी बढाउने कार्य थालेका छौं, कारोबारमा संलग्नताको प्रमाण फेला परे त्यस्तालाई तत्काल कानुनको दायरामा ल्याउँछौं, उनले भने ।

अवैध सुन भारत पठाउँदा कम समयमा ठूलो रकम कमाउने लोभले पनि केही व्यवसायीहरु यसतर्फ आकर्षित भएका छन् । एक किलो सुन भारत पठाउँदा करिब ६ लाख फाइदा हुने अनुमान सुन व्यवसायीहरुको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us