अफगानिस्तानको हमलामा विदेशीको हात

काठमाण्डु टुडे २०७० माघ ६ गते २:४९ मा प्रकाशित

काठमाण्डु ६ माघ–अफगानिस्तानले राजधानी काबुलमा भएको आत्मघाति हमलामा विदेशी जासुसी संस्थाको हात रहेको दावी गरेको छ ।

यति योजनाबद्ध आक्रमण गर्न तालिबान सक्षम नभएकोले उक्त आक्रमण विदेशी जासुसी संस्थाले गराएको अफगानिस्थानको राष्ट्रिय सुरक्षा परिषदले जनाएको छ ।

अफगानिस्थानको राजधानी काबुल स्थित एउटा लोकप्रिय रेस्टुरेन्टमा शुक्रबार साँझ भएको आत्मघाती हमलामा २१ जनाको ज्यान गएको थियो । घटनामा छिमेकी मुलुकको जासुस संस्था संलग्न रहेको हुन सक्ने दावी सुरक्षा परिषदका प्रवक्ताले गरेका छन् ।

उक्त आत्मघाती हमला जुन चतुरयाई र कुशलतासाथ गरियो त्यस्तो हमला गर्न तालिवान सक्षम नभएको अफगान सुरक्षा परिषदको दावी छ । घटना लगत्तै तालिवानले घटनाको जिम्मेवारी भने लिएको थियो ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष राष्ट्रपति हामिद करजाई छन् । हमलामा परेको काबुल स्थित टेवर्ना–डु–लिबान रेस्टुरेन्ट काबुलमा रहेका विदेशीहरुमाफ निकै लोकप्रिय थियो । हमलामा अन्तराष्ट्रिय मुद्रा कोषका स्थानीय प्रमुख र अन्य नौ जना विदेशी नागरिक मारिएका थिए ।

अत्मघाति हमलामा एकजना हमलाकारीले रेस्टुरेन्ट बाहिर आफुलाई विष्फोट गराएपछि अन्य दुईजना रेस्टुरेन्ट भित्र छिरेर अन्धाधुन्ध गोली चलाएका थिए । केहि बेर पछि सुरक्षा फौजले दुवै हमलाकारीलाई मारेको थियो ।

अफगानिस्तानमा रहेका नाटो सेनाको अन्तिम टोली यसै वर्ष फिर्ता हुदै गर्दा अफगानिस्तानको सुरक्षा ब्यवस्था निकै चिन्ताको विषय बनेको छ । एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us