एमालेभित्र नेतृत्वकालागि रस्साकस्सी

काठमाण्डु टुडे २०७० माघ ४ गते ३:५८ मा प्रकाशित

oli_nepal_khanalकाठमाडौं, माघ ४ – आठौं महाधिवेशनबाट एमालेले मुलुकका अन्य सबै दललाई उछिनेर लोकतान्त्रिक पद्धतिअनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका कारण महाधिवेशनमा झलनाथ खनाल र नेता केपी ओलीबीच दुईवटा चुनावी प्यानल खडा भए ।

दुई प्यानल भिड्दा खनाल अध्यक्षमा निर्वाचित भए, नेता ओली हारे । झगडाको बीउ त्यहींबाट सुरु भयो । केन्द्रदेखि तल्लो तहसम्मै दुई नेताको पक्ष लिएर गुटबन्दी झाँगियो । चुनाव जित्ने पक्षले हार्नेलाई समेट्न खोजेन, हार्नेले अर्को पक्षको जित स्वीकारेन, समस्या त्यहींबाट सुरु भयो ।

माओवादी कि कांग्रेससँग सहकार्य गरेर जाने भन्नेमा अध्यक्ष खनाल र नेताहरू माधव नेपाल र ओली समूहबीच मत मिलेन । खनाल पक्ष माओवादसँग सहकार्य गरेर जाने पक्षमा रह्यो भने नेपाल-ओलीले कांग्रेसलाई निकट ठाने ।

दुइटा प्रतिस्पर्धी पार्टीसँगको सम्बन्ध कस्तो राख्ने भन्ने सैद्धान्तिक विवादले दुई पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि एमालेले राजनीतिक प्रभाव छाड्न सकेन ।

कांग्रेससहितका दलहरूको समर्थनमा पहिलो पटक वरिष्ठ नेता माधवकुमार नेपालले सात महिना कामचलाउसहित झन्डै २२ महिना सरकार चलाए । तर नेपाल नेतृत्वको सरकार विपक्षी दलको विरोधभन्दा पनि पार्टीभित्रकै विवादका कारण टिक्न सकेन ।

अध्यक्ष खनालले नै नेपाल नेतृत्वको सरकारको विरोध गरिदिए । उपाध्यक्ष वामदेव गौतमसहितका झन्डै ५ दर्जन नेताले नेपाल नेतृत्वको सरकारविरुद्ध हस्ताक्षर अभियान नै चलाए ।  नेपाल नेतृत्वको सरकारपछि फेरि एमालेकै हातमा सरकारको अवसर आयो ।

अध्यक्ष खनाल माओवादीको समर्थनमा प्रधानमन्त्री बन्न पुगे । पार्टीलाई नै थाहा नदिई प्रधानमन्त्री बन्न एमाओवादीसँग गोप्य सात बुँदे सहमति गरेको आरोप खनालमाथि लाग्यो । उनी प्रधानमन्त्री बनेपछि पार्टीभित्र नेपाल-ओली समूह पार्टीभित्रैबाट प्रमुख विपक्षीजस्तो भूमिका देखिए ।

नेपाल-ओलीले खनाल नेतृत्वको सरकारलाई पार्टीभित्रबाट सहयोग गरेनन् । झन्डै ६ महिनासम्म खनाल सरकारमा बसे । त्यो बेला उनले गरेका काममाथि अनुशासनको प्रश्नसमेत उठ्यो । पार्टीको नीति निण्र्ायविपरीत उनले सत्ता गठबन्धन टिकाउन सम्झौतावादी बनेर पार्टीलाई बदनाम गराएको भन्दै पदबाटै हटाउनेसम्मका धम्की नेपाल-ओली पक्षबाट आयो । केन्द्रीय समितिभित्र घटनाक्रम व्यक्तिगत लाञ्छना लगाउने तहसम्म पुग्यो ।

आन्तरिक एकता हुँदै, भत्किँदै

चरम गुटबन्दीले पार्टी नै समाप्त हुने स्थितिमा पुगेपछि विशेष गरी खनाल-ओलीबीच २०६८ मा आन्तरिक एकता गरेर जाने सहमति भयो । महाधिवेशनको पछिका पहिला तीन वर्षको गुटबन्दीले नेताहरूको व्यक्तित्व क्षयीकरण भयो । पार्टी अप्ठ्यारोमा परेको महसुस दुवैले गरे । त्यसपछि २०६८ फागुनमा भएको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकबाट पार्टीभित्र आन्तरिक एकता गरी जाने घोषणा भयो ।

त्यही एकताका क्रममा स्थायी समिति सदस्य रहेका नेता ओलीलाई तेस्रो वरीयतामा राख्ने निर्णय निर्णय भयो । तलदेखि माथिसम्मको गुटबन्दी अन्त्य गर्ने, चुनावमा प्यानल खडा नगर्नेलगायत सहमति भएका थिए । ती सहमतिप्रति त्यो बेला वरिष्ठ नेता नेपाल र महासचिव ईश्वर पोखरेल केही सशंकित भएका थिए ।

राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकपछि पछिल्ला दुई वर्ष एमालेमा धेरै ठूलो गुटबन्दी देखिएन । सार्वजनिक मञ्चबाट प्रमुख नेताहरूले एकअर्कालाई गाली गरेनन् । पार्टी सुदृणीकरणका लागि भन्दै देशव्यापी अभियान पनि चलाए । पार्टीभित्रको तीन नेताको सम्बन्ध सुधि्रँदा त्यसको प्रभाव हालै सम्पन्न संविधानसभाको चुनावमा पनि पर्‍यो । आठौं महाधिवेशनअघि ३३ सिटमा खुम्चिएको पार्टीले प्रत्यक्षमा ९१ सिट हासिल गर्‍यो । यो ठूलौ उपलब्धि भयो एमालेलाई तर चुनाव सँगसँगै नेताहरूबीच मनमुटाव सुरु भयो ।

चुनावमा टिकट वितरण गर्ने विषयमा प्रमुख नेताहरूबीच विवाद भयो । असार महिनामा चुनाव नहुने अवस्था आएपछि नेता ओली पक्षले तत्काल महाधिवेशन गर्नुपर्ने माग पार्टीभित्र चर्काउन थाल्यो । त्यसलाई खनाल पक्षले रुचाएन । त्यही कारण झन्डै दुई वर्षअघि भएको खनाल र ओलीबीचको आन्तरिक एकतामा धुमिल बन्न थाल्यो । खनाल र ओलीको दूरी बढ्यो । यसको फाइदा नेपालले उठाए । उनले अहिले महाधिवेशन लक्षित गर्दै खनालसँग आफ्नो निकटता बढाएका छन् । नवौं महाधिवेशनको अन्तिमसम्म यो समीकरण उथलपुथल पनि हुन सक्छ । तर यतिबरे खनाल-नेपाल एकातिर ओली अर्कोतिर भएका छन् ।

को हुन् खनाल, नेपाल र ओली ?

खनाल, नेपाल र ओली तीनै जना एमालेका पुराना नेता हुन् । खनाल २०२५ र नेपाल/ओली २०२६ सालबाट पार्टीको सदस्य बनेका हुन् । खनाल र ओली २०२८ सालको झापा विद्रोहदेखि नै सँगै छन् । खनाल र नेपाल दुवै नेता  पार्टीको प्रमुख पदमा पुगिसकेका छन् ।

खनालले दुई पटक गरी झन्डै १३ वर्ष पार्टीका महासचिव र अध्यक्षको हैसियतमा पार्टीको नेतृत्व गरिसकेका छन् । नेपालले लगातार १५ वर्ष महाचिवको रूपमा पार्टी चलाए । खनाल र नेपाल दुवैले प्रधानमन्त्री भएर मुलुकको समेत नेतृत्व गरिसकेका छन् । ओली भने अहिलेसम्म दुवैतर्फ पहिलो नम्बरमा पुग्न सकेका छैनन् ।

खनाल २०३९ सालमा तत्कालीन महासचिव सीपी मैनाली कारबाहीमा परेपछि  पहिलोपल्ट महासचिव भएका थिए । त्यसपछि झन्डै ८ वर्ष खनालले तत्कालीन मालेको महासचिव भएर काम गरे । माले र माक्र्सवादीको एकीकरणबाट एमाले बनेपछि चाहिँ खनाल लामो समय गुमनाम जस्तै थिए ।

२०५० सालमा मदन भण्डारीको निधन भएपछि एमालेमा माधव नेपाल प्रमुख नेताको रूपमा उदाए । अध्यक्ष मनमोहन अधिकारी भए पनि पार्टीको प्रमुख कार्यकारी पद महसचिव थियो । महासचिवको रूपमा नेपालले लगातार २०६५ सालसम्म पार्टीको नेतृत्व गरे ।

उनका कार्यकालभरि ओली पार्टीभित्र प्रतिपक्षको भूमिकामा नै रहे । संविधानसभाको पहिलो चुनावमा नेपाल र ओली दुवै हारेपछि खनाललाई फेरि एमालेको नेतृत्व गर्ने अवसर जुट्यो । नेपालले नैतिकताको आधारमा राजीनामा दिए ।

चुनाव जितेको र पहिले पार्टीको नेतृत्व पनि गरेकाले तत्कालीन स्थायी समिति सदस्य खनाललाई पार्टीले महासचिवको जिम्मेवारी दिए । लामो समय पार्टीभित्र शक्तिविहीन अवस्थामा रहेका खनाल महासचिवको पद पाएपछि शक्तिशाली बने ।

झन्डै नौ महिना महासचिव चलाएपछि २०६५ फागुन भएको बुटवल महाधिवेशनबाट एमाले अध्यक्षात्मक संरचना गयो । नयाँ संरचनामा पनि खनाल ओलीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भए ।

बुटवल महाधिवेशनमा नेपाल आफू सर्वसम्मत रूपमा फेरि अध्यक्ष बन्न चाहन्थे । तर त्यो सम्भावना नरहेपछि प्रतिस्पर्धी बनेनन् । उनले खनाल र ओली दुवै पक्षलाई समर्थन गरेनन् ।

तीन नेताको व्यक्तिगत परिचय

झलनाथ खनाल
अध्यक्ष
उमेर ६४ वर्ष
पार्टी सदस्यता २०२५ साल
२०३९-०४६ माले महासचिव
२०६५ एमाले महासचिव
२०६५ देखि हालसम्म एमाले अध्यक्ष
२०६७  प्रधानमन्त्री
२०४८ अन्तरिम सरकारका बन मन्त्री
२०५३ सूचना तथा सञ्चारमन्त्री

माधवकुमार नेपाल
वरिष्ठ नेता
उमेर ६१ वर्ष
पार्टी सदस्यता २०२६ साल
२०५०-०६५ सम्म पार्टी महासचिव
२०६६ जेठमा प्रधानमन्त्री
२०५१-०५२ उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री

केपी शर्मा ओली
स्थायी कमिटी सदस्य, विदेश विभाग प्रमुख
उमेर ६२
पार्टी सदस्यता २०२६ साल
२०५१-०५२ गृहमन्त्री,
२०६४-०६५ उपप्रधान एवं परराष्ट्रमन्त्री

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us