लुम्बिनीमा ध्वनि प्रदूषण बढ्दै

काठमाण्डु टुडे २०७० माघ ४ गते १:३१ मा प्रकाशित

Dhwaniभैरहवा, ४ माघ – शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र विकास कोषले ध्यान नदिँदा फोहोर र ध्वनि प्रदूषण दिनप्रति दिन बढिरहेको छ ।
विश्व सम्पदा सूचीमा नै शान्ति क्षेत्रको रुपमा सूचीकृत भएको लुम्बिनीमा आन्तरिकरुपमा विभिन्न जेनेरेटरहरु सञ्चालनमा ल्याउँदा ध्वनि प्रदूषण भएको हो ।

लुम्बिनी क्षेत्रमा रहेका बिहार, गुम्बा र होटलले प्रदूषणयुक्त ठूला जेनेटरहरु प्रयोगमा ल्याउँदा यहाँ आउने पर्यटकलाई समेत ध्वनि प्रदूषणले सताउने गरेको छ ।
शान्त र एकान्त खोज्न लुम्बिनी आएका पर्र्यटकले यहाँका जेनेरेटरबाट निस्कने धुँवा र आवाजले लुम्बिनीलाई अशान्तमा परिवर्तन गर्न खोजेको बताउन थालेका छन् ।

लुम्बिनीमा रहेका जर्मन, थाइल्यान्ड, म्यान्मार, श्रीलंका, कोरियाद्वारा निर्मित गुम्बाहरुमा ध्वनि प्रदूषणयुक्त जेनेटर राख्नाले पर्यटकलाई समस्या हुने गरेको लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी प्रल्हाद यादव बताउँछन् ।

गुम्बाहरुमा मात्र होइन, यहाँका अधिकांश होटलमा पनि ठूला क्षमताका जेनेटरहरु राखिएकाले पनि यहाँ प्रदूषण हुने गरेको छ ।

पाल्पाबाट लुम्बिनी दर्शनमा आएकी अनिता पौडेलले लुम्बिनीको मैलवारबाट छिर्ने मुख्य द्वारको छेउछाउमा नै फोहोर र प्रदूषितले ढाकेको देख्दा दुःख लागेको बताईन् ।

भारतको सिक्किमबाट लुम्बिनी दर्शन गर्न आएका आशिष लामाले लुम्बिनीलाई शान्तिमय बनाउन सुझाव दिँदै गुम्बा र होटलको फोहोर व्यवस्थापन र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ लुम्बिनी विकास कोषको ध्यान जानुपर्नेमा जोड दिए ।

वैकल्पिक रुपमा विद्युत्को व्यवस्था गर्नुपर्ने वा लुम्बिनी क्षेत्रमा २४ घण्टा नै विद्युत् भार कटौतीमुक्त गराउनु पर्ने संस्कृतविद् गीतु गिरीको सुझाव छ ।
भैरहवा विद्युत् प्राधिकरणका प्रमुख विनोद उपाध्यायले केन्द्रीय स्तरको निर्णय आएमा लुम्बिनी क्षेत्रमा विद्युत् भार कटौतीमुक्त गराउन सकिने बताए ।
लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङले लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर क्षेत्रमा उद्योग सञ्चालनमा स्वीकृत लिनुपर्ने निर्णय भए पनि आन्तरिकरुपमा प्रयोगमा आएका जेनेरेटरको सम्बन्धमा कुनै कानुन नभएकाले नियन्त्रण गर्न गाह्रो भएको जानकारी दिए ।
लुम्बिनीलाई विद्युत् भार कटौती मुक्त बनाउने पहल समेत भैरहेको उनको भनाई छ ।

विश्वबाट नै हजारौँ पर्यटक लुम्बिनीको दर्शन गर्न र शान्तिका लागि आउने हुँदा यस क्षेत्रमा ध्वनि प्रदूषण र फोहोर व्यवस्थापनमा विकास कोषले ध्यान दिन आवश्यक देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us