
चितवन, ३ माघ–पशुपालन व्यावसायिक हुन नसक्दा यसको व्यवस्थापन पनि कमजोर पाइएको छ । पंक्षीमा आधुनिकीकरण भइरहेका बेला पशुपालनमा भने परम्परागत शैली अझै हट्न सकेको छैन । जसका कारण लगानी अनुरुपको प्रतिफल लिन कृषक असफल भएका छन् ।
जिल्ला पशु सेवा कार्यालय चितवनले चार दिन लगाएर गरेको व्यावसायिक फार्मको निरीक्षणका क्रममा अधिकांश फार्महरू सरसफाइमा कमी देखिएको जनाएको छ । फार्म व्यवस्थापन कमजोर हुँदा पशुहरू अत्यधिक सङ्ख्यामा बिरामी हुने देखिएको छ । गोठ व्यवस्थापन राम्रो भए पशु बिरामी हुने ७० प्रतिशतले कमी हुने पशुचिकित्सकहरू बताउँछन् । पशु बस्ने गोठमा पिसाब जम्ने समस्याले गर्दा धेरै पशु थुनेलो रोगबाट ग्रसित भएको पाइएकाले सरसफाइमा ध्यान दिन कार्यालयले आग्रह गरेको छ । पिसाब सङ्क्रमणबाट लाग्ने रोगहरूबाट धेरै पशु बिरामी पर्ने गर्दछन् ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामकुमार कार्कीले जिल्लाका ४० वटा व्यावसायिक फार्ममा गरिएको अनुगमनमा सरसफाइमा धेरै चासो नदिइएको पाइएको जानकारी दिए । फार्म अनुसारको पर्याप्त घाँसखेती नभएको भन्दै घाँस व्यवस्थापनमा समेत ध्यान दिन सकिए उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।
चितवनमा २०० भन्दा बढी व्यावसायिक फार्म मध्येका फार्महरूमा प्राविधिकसहितको टोलीले अनुगमन गरेको थियो । ३१ गाई फार्म, चार भैंसी फार्म, दुई बाख्रा फार्म र तीन बङ्गुर फार्मको अनुगमन गरिएको हो । अधिकांश फार्मले पराल र दानाको बढी प्रयोग गर्ने गरेको समेत पाइएको छ । धरैजसो फार्मको रेकर्ड पनि व्यवस्थित नभएकाले पशुपालनको वास्तविक अवस्थाबारे तथ्याङ्क सङ्कलन गर्न पनि कठिन हुने गरेको छ । रासस