सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला

काठमाण्डु टुडे २०७० माघ २ गते ११:०० मा प्रकाशित

दाmushroom-nepalङ, २ माघ– केही वर्ष अगाडिसम्म सधैं घरको काममा मात्र सीमित रहने गरेका तुलसीपुर नगरपालिका वडा नं ६ मोतिपुरका महिला पछिल्ला केही वर्षयता एकजुट भई सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् ।

उनीहरू गंगामाला समूह खोलेर च्याउखेती गरी आयआर्जन गर्न सफल भएका हुन् । सुुरुका वर्षमा स्थानीयवासीको एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती सुरु गरेको बताउनुहुन्छ, संस्थाकी अध्यक्ष तुलसा बुढामगर ।

‘त्यसको केही वर्षपछि भने संस्थामा आबद्ध १४ महिलाको सक्रियता र समूहमा सङ्कलन भएको केही रकमबाट एक कट्ठा जग्गा किन्न सफल भयौँ । अनि आफैँ लगानी र श्रमदान गरेर समूहका लागि पक्की घर बनायौँ र सोही घरमा अहिले च्याउखेती गरेका छौं,’ अध्यक्ष बुढामगरले भनिन् ।

विसं २०६७ मा कृषि विकास कार्यालय दाङले महिलालाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेतीसम्बन्धी तालिम पाएलगत्तै आफ्ना गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष  पाँच हजारको लगानीबाट च्याउखेती सुरु गरेको उनले जानकारी दिए ।

अहिले समूहबाट वार्षिक १३ लाखको आम्दानी भइरहेको छ । त्यसैगरी यो व्यवसायलाई अझ बढाउन अहिले लघुउद्यम कार्यालय दाङले पनि च्याउखेतीका लागि आवश्यक पर्ने बीउ र कृषि औजार दिने गरेको उनले बताए ।

अहिले त समूहमा दैनिक ५० देखि ६० केजी च्याउ उत्पादन हुने गरेको छ । त्यो च्याउ लिन समूहले उत्पादन गर्ने ठाउँमा नै ग्राहक आउने गर्छन् । च्याउ प्रतिकेजी १ सय ४० मा बिक्री गरिरहेको संस्थाकी सदस्य अनिता चौधरीले बताइन् ।

संस्थामा आबद्ध महिलाले सामूहिक च्याउखेतीबाट आम्दानी लिनुका साथै आफ्नै घरमा छुट्टै खेती पनि गरेका छन् । छिट्टै आम्दानी लिन सकिने र मिहिनेत पनि त्यति नलाग्ने भएकाले सबैले आफ्ना घरमा च्याउखेती गरेको चौधरीले जानकारी दिइन् ।

घरमा गरिएको च्याउखेतीबाट मात्रै वार्षिक रु दुईदेखि रु तीन लाखसम्म आम्दानी लिन महिला सफल भएका छन् । कृषि विकास कार्यालय र लघुउद्यम कार्यालय दाङले यस आवको हालसम्ममा १२५ जना महिलालाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले च्याउखेतीसम्बन्धी निःशुल्क तालिम दिएको जनाइएको छ ।

महिला घरको चुल्होचौकोमा मात्र सीमित रहने परम्परालाई तोड्दै गाउँका यी महिलाले गरेको कामको सिको अरू महिलाले पनि गर्ने हो कि ? रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us