पाकिस्तानलाई दिदै आएको आर्थिक सहयोग रोक्ने अमेरिकाको चेतावनी

काठमाण्डु टुडे २०७० माघ २ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, २ माघ– अमेरिकाले अलकायदा प्रमुख ओसामा विन लादेनको खोजीमा मद्दत गरेका डाक्टर शकील अफरीदीलाई रिहा गर्न पाकिस्तानलाई दवाव दिएको छ । उसले अफरीदीलाई रिहा नगरे आतंकवाद विरुद्धको लडाइमा पाकिस्तानलाई दिदै आएको सहयोग रकम रोक्ने चेतावनी दिएको छ ।

लादेनको हत्यापछि अफरीदी पाकिस्तानको जेलमा बन्द छन् । पूर्व जानकारी विना पाकिस्तानी भुमिमै प्रवेश गरी अमेरिकी सेनाले अलकायदा प्रमुख लादेनको हत्या गरेपछि पाकिस्तान रुष्ट छ । अमेरिकी सेनालाई देशका गोप्य सूचना दिएकोलगायत कैयौं आरोप लगाउँदै अफरीदीलाई पाकिस्तान सरकारले पक्राउ गरेको हो ।

अमेरीकी संसदमा प्रस्तावित बजेट मस्यौदामा अफरीदीलाई रिहा नगरेसम्म पाकिस्तानलाई आतंकवाद विरुद्धको कारवाहीको लागि दिदै आएको सहयोग रकममध्ये तीन करोड तीस लाख डलर रोक्नुपर्ने उल्लेख छ । साथै अफरीदीमाथि लगाइएका बिभिन्न अभियोग फिर्ता लिनुपर्ने सर्त पनि बजेट मस्यौदामा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

साथै पाकिस्तानले अमेरिकी विदेशमन्त्रालय र रक्षामन्त्रालयलाई अल कायदा, तेहरीक ए तालिवान, हक्कानी नेटवर्क र क्वेटा शूरा तालिवान लगायत विद्रोही समूह विरुद्धको कारवाहीमा सहयोग गरिरहेको भनेर जानकारी गराउनु पर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us