अस्पतालबाट ९ दिनको बच्चा चोरियो

काठमाण्डु टुडे २०७० माघ २ गते ४:२४ मा प्रकाशित

बुटवल, २ माघ- सुन्दा अचम्म लाग्न सक्छ । २० वर्ष पछि पाएको पहिलो सन्तान अस्पतालबाट चोरीको भएपछि खबरपछि रुपन्देहीमा अभिभावक अचेत अवस्थामा छन् । घटना बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको हो । कपिलवस्तुको विरपुर-६, कुदरवेटवाका सज्नु रैदासको ९ दिनका छोरा मंगलबार साँझ अस्पतालबाट चोरी भएको थियो ।

शल्यक्रिया गरेर छोरा जन्मिएपछि मंगलवार पतिपत्नी टाँका काट्न अस्पताल गएका थिए । पत्नी लाइनमा बसेका बेला पति शौचालय गएका थिए । त्यहीँ बेला एक महिला आएर कति राम्रो बच्चा भन्दै खेलाउँछु भनेर लिएर गएकी आमा रामरतीले बताइन् । ‘बच्चा हराएपछि तत्काल प्रहरीलाई खबर गरेँ’, बुधबार साँझसम्म नभेटिएको बाबु सज्नुले दुखेसो पोखे ।

बच्चा हराएको खबर पाउँना साथ खोजी तीव्र बनाइएको ईप्रका बुटवलका निरीक्षक सोम थापाले बताए । मातहतका युनिट र छिमेकी जिल्लालाई संचारमार्फत खोजीका लागि अनुरोध गरिएको उनले बताए । चोरी गर्ने महिलाको हुलिया थाहा हुन नसक्दा अनुसन्धान गर्न गार्‍हो भइरहेको उनले बताए ।

बच्चा चोरी हुँदा आमा अचेत छिन् । विबाह गरेको २० वर्षपछि उनीहरुले सन्तान सुख पाएका थिए । ‘औषधीमुलो गरी २ दशकपछि छोरा जन्मियो,’ बाबुले भने,’ राम्ररी हुर्काउन नपाई चोरी भयो ।’ सुर्ताले दम्पती बोलचाल गर्न सकेका छैनन् ।

‘जसले लगेपछि सुरक्षित ल्याई दिन अनुरोध छ,’ आमाले भनिन्,’ मेरो काख रित्याएर के पाउँछौं ।’ पहिलो सन्तान भएपछि परिवारका सबै सदस्य खुसी भएका थिए । सुरक्षित रुपमा बच्चा फिर्ता गर्नेलाई उनका छिमेकी अलताफ खानले उचित पुरस्कार दिने बताएका छन् । – कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us