एघार हजार घरधुरीमा बिजुली

काठमाण्डु टुडे २०७० माघ १ गते ६:५६ मा प्रकाशित

गोरखा, १ माघ – केन्द्रीय प्रसारण लाइनले नछोएको जिल्लाका उत्तरी क्षेत्रका ११ हजार घरधुरीले लघुजलविद्युत् परियोजनाबाट बिजुली बत्ती बालेका छन् । नेपाल सरकार वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्र, कादुरी र क्षेत्रीय नवीकरण ऊर्जा केन्द्र दमौलीको छुट्टाछुट्टै आयोजनाबाट उक्त सङ्ख्याका घरधुरीले बत्ती प्रयोग गर्न पाएका हुन् ।
लघु जलविद्युत्का कारण यहाँका जनतालाई सञ्चारका साधन चलाउन, कुटानीपिसानीका मिल चलाउन र स साना घरेलु उद्योग सञ्चालन गर्न सजिलो भएको छ । नवीकरणीय ऊर्जासँगै यहाँ सुधारिएका पानी घट्ट, सोलार पाता जडान गरिएका बिजुलीले यहाँको विकासमा ठूलो भूमिका खेलेका छन् ।
जिल्लाका नौली खोला, घट्टे खोला, आर्खेत खोला, झ्याल्ला खोला, अँधेरी खोला, हुन्डी खोलालगायतका खोलाबाट दुईदेखि तीन ठाउँबाट बिजुली निकालिएको छ । लघु जलविद्युत् उत्पादनका कारण यहाँको पर्यटन व्यवसायलाई अघि बढाउन सजिलो भएको छ । यसले स्थानीय उत्पादनको खपत बढ्नुका साथै गरिबी न्यूनीकरणमा समेत सहयोग पु¥याएको छ ।
सजिलै देख्न सकिने पछिल्लो उदाहरण केरौंजास्थित भूत खोलाबाट निकालिएको विद्युत्ले गुम्दाको माछा खोला बजारमा पारेको प्रभाव हो । यहाँ विद्युत् उत्पादन हुनुअघि सामान्य दालभात, तरकारी खाने र बस्ने ठाउँको व्यवस्था पनि थिएन । गएको दुई वर्षमा यहाँ पर्यटन क्षेत्रको विकास भई स्टार तहको होटल तथा लजको स्थापना भएका छन् । वैदेशिक रोजगारमा गएका घर फर्केर यहाँबाट सेवा प्रदान गरिरहेका छन् । पर्यटकले सुविधा पाएका छन् । स्थानीयले थोरै भए पनि रोजगार लिन सकेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रका प्रायः सबै गाउँमा बिजुली बत्तीको पहुँच पुगेको भए पनि सबै क्षेत्रमा उत्तिकै विकास भने हुन सकेको छैन । विकट भौगोलिक अवस्था, बाटो असुविधा, व्यापक गरिबी, घट्दो जनसङ्ख्या र शैक्षिक चेतना अभावमा समानुपातिक विकास हुन सकेको छैन ।
विकासे कामका लागि सरकारी निकायको समेत उत्तरी गोरखामा कम ध्यान पुग्ने गरेको त्यस क्षेत्रको विकासमा चासो राख्ने सङ्घ संस्थाको गुनासो रहेको छ । तल्लो क्षेत्रको सरह माथिल्लो क्षेत्रको विकासमा पनि बजेट विनियोजन गर्ने हो भने केही वर्षभित्र उत्तरी गोरखाको अवस्थामा ठूलै सुधार आउने सिर्दीवासका धनबहादुर गुरुङ बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us