‘मृत्यु स्वीकार्य छ’

काठमाण्डु टुडे २०७० माघ १ गते ३:४८ मा प्रकाशित

dr.Gobinda-KCकाठमाण्डु, १ माघ – चार दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले आफूलाई केही भएमा त्यसको जिम्मेवार ‘राजनीतिक नेतृत्व, त्रिविका उपकुलपति, रेक्टर, रजिस्टार र चिकित्साशास्त्र अध्ययन संस्थानमा भागबन्डामा आएका पदाधिकारी हुने’ बताएका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान ‘मेडिकल माफिया र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न’ मागसहित अनशन गरिरहेका केसीले भने, ‘माग पूरा नभएसम्म अनशन बसिरहन्छु । मृत्युवरण गर्नुपरे पनि मलाई ग्राह्य छ ।’

डा. केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । ‘उहाँको स्वास्थ्य स्थिति क्रमशः कमजोर हुँदै गएको छ । कुनै पनि बेला जे पनि हुन सक्छ,’ उपचारमा संलग्न चिकित्सा टोलीका महेशराज सिग्देलले भने, ‘हामी निरन्तर उहाँको स्वास्थ्य स्थिति अनुगमन गर्दैछौं ।’

मंगलबार उनको मुटुको चाल र श्वासप्रश्वास बढेको छ । यस्तै बेला-बेला उनको टाउको दुख्ने, छातीको देब्रेपट्टि दुख्ने, मुटु ढुकढुक हुने, पिँडुलाको मासु कर्कर खानेजस्ता समस्या देखिन थालेका छन् । चिकित्सकहरूका अनुसार गत आइतबारबाटै उनको पिसाबमा एसिटोन देखिन थालेको हो । यो स्वास्थ्य खतराको संकेत हो ।

त्रिवि पदाधिकारीहरूले पुलिसको मेडिकल कलेज, काठमाडौं नेसनल मेडिकल कलेज, मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने सँगै पिपुल्स डेन्टल कलेजलाई मेडिकल कलेजमा परिवर्तन गर्नुपर्ने डा. प्रकाश सायमीलाई दबाब दिइएको केसीले बताए । उनले यसअघि समेत संस्थानले धान्नै नसक्ने गरी मेडिकल कलेजहरूलाई सम्बन्धन दिएपछि हाल यहाँको चिकित्सा सेवा र अध्ययनको गुणस्तरमा समेत ह्रास आएको दाबी गरे ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ, अविवाहित डा. केसी यसअघिसमेत त्रिविको यस्तै प्रकृतिको क्रियाकलापविरुद्घ गत वर्ष भदौ महिनामा चार दिन र त्यसको पुनः पाँच सातापछि ६ दिन गरी दुई पटक आमरण अनशन बसिसकेका छन् । उक्त अनशनपछि सरकारले बाध्य भएर आफ्नो निर्णय फिर्ता लिँदै राजनीतिक भागबन्डाका आधारमा नभएर स्वच्छ छवि एवं वरिष्ठताका आधारमा डा. सायमीलाई डिनका रूपमा नियुक्त गरेको थियो । दुई पटकको आन्दोलनले संस्थानमा राजनीतिक भागबन्डाका आधारमा नभएर स्वच्छ, वरिष्ठ र कार्यक्षमताका आधारमा नियुक्ति हुने प्रक्रिया सुरु भइसके पनि यसलाई धराशायी बनाइएको उनले जनाए ।

दक्षिण एसियामै उत्कृष्ट रहेको संस्थानमा राजनीतिक भागबन्डाबाट पदाधिकारी नियुक्त हुने परिपाटी सुरु भएपछि यो धराशायी हुँदै गएको उनले बताए । राजनीतिक नियुक्ति पाएकाहरूले नेपाली जनता र संस्थानको हितभन्दा पनि आफ्नो पार्टीलाई सर्वोपरि मान्ने गरेकाले संस्थानमा दुखद स्थिति निम्तिएको डा. केसीले बताए । उनले यस्तो प्रक्रियाले आम नेपाली जनताको गुणस्तरीय स्वास्थ्य पाउनुपर्ने अधिकार नै गुम्नेसमेत जनाए ।

‘डिनज्यू राजीनामा दिनोस्’

चिकित्साशास्त्र अध्ययन संस्थानका विभागीय प्रमुख र केन्द्र प्रमुखहरूमध्ये करिब सबैजसोले नवनियुक्त डिन डा. शशि शर्मालाई राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार बिहान डिन डा. शर्माले आफ्नो कार्यालयमा बोलाएको बैठकमा संस्थानका विभागीय प्रमुख र केन्द्र प्रमुखहरूले उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा डा. केसीको ज्यान जोगाउन राजीनामा दिन आग्रह गरेका थिए ।

शिक्षण अस्पतालका निर्देशक डा. भगवान कोइरालाले डा. शर्मालाई सम्बोधन गर्दै आफू यस्तो परिस्थितिमा राजीनामा दिने जनाएको समेत बैठकमा उपस्थिति प्राध्यापकहरूले बताए । कोइरालाले डा. केसीको ज्यान जोगाउन डा. शर्मालाई पछाडि हट्न आग्रह गरेका थिए ।

‘डा. केसीको जीवन बचाउनु छ भने म डिनको राजीनामाबाहेक अन्य उपाय देख्दिनँ,’ शल्यक्रिया विभागका प्रमुख तथा स्नायु शल्य चिकित्सक प्रा. डा. सुशील सिल्पकारले भनेको बैठकमा उपस्थित पदाधिकारीहरूले बताए ।

‘डा. केसीको जीवन महत्त्वपूर्ण हो, यस्तो स्थितिमा तपाईंले राजीनामा दिनु नै राम्रो हुने कुरा डिनज्यूलाई कसैले प्रत्यक्ष त कसैले अप्रत्यक्ष रूपमा बताएका थिए,’ एक प्राध्यापकले भने, ‘करिब हामी २५ जनामध्ये मात्र दुई/तीन जनाले राजीनामा समस्याको समाधान नहुने बताए ।’

डा. केसीका सात माग

डा. गोविन्द केसीले सातवटा माग राखेर आमरण अनशन गरिरहेका छन् । सबै शिक्षण तथा स्वास्थ्य संस्थाहरूमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, थप निजी मेडिकल कलेजलाई सम्बन्धन दिन बन्द गर्नुपर्ने र गैरकानुनी रूपले दिन लागिएको सम्बन्धन प्रक्रिया बन्द गरी छानबिनसमेत हुनुपर्ने उनका मुख्य माग हुन् । अन्य मागमा राजनीतिक र प्रशासनिक दबाबमा राजीनामा गराइएका तत्कालीन डिन डा. सायमीको पुनर्बहाली गराउनुपर्नेसमेत छन् । हालका त्रिविका पदाधिकारी, उपकुलपति, रेक्टर, रजिस्टार आदिलाई भ्रष्ट रहेको आरोप लगाउँदै केसीले आफ्नो चौथो मागमा उनीहरूलाई पदमुक्त गरी कारबाही गर्नुपर्ने र संस्थानको भ्रष्टाचारमा दोषी ठहरिएका पूर्वपदाधिकारीहरूलाई समेत कारबाही गरिनुपर्ने छ ।

उनले संस्थानलाई स्वायत्त चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना गर्नसमेत माग गरेका छन् । डा. केसीले आफ्नो छैटौं मागमा अधिकांश नेपाली जनता बसोबास गर्ने ग्रामीण भेगमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने नीति बनाउनुपर्ने कुरा उठाएका छन् । सातौं मागमा संस्थानमा मुख्य रूपले वरिष्ठता र कार्यदक्षताका आधारमा स्वच्छ प्रक्रियाबाट पदाधिकारीहरूको नियुक्त गरिएको थियो, त्यसलाई स्थायी रूपमा स्थापित गर्ने र मुलुकका अन्य संस्थानमा पनि यस्तै नीति लागू गरिनुपर्ने छ ।

रेजिडेन्ट नआएपछि फ्याकल्टीले बहिरंग चलाए

त्रिवि शिक्षण अस्पतालमा मंगलबार रेजिडेन्ट चिकित्सकहरू आकस्मिक र अन्तरंगबाहेकका सेवामा सहभागी भएनन् । रेजिडेन्ट डाक्टर्स एसोसिएसनले हालका लागि डा. केसीको आमरण अनशन जारी रहेसम्म आकस्मिक र अन्तरंग बाहेकका सेवामा सहभागी हुन नसक्ने जनाएको छ । अस्पतालमा करिब दुई सय रेजिडेन्ट डाक्टर छन् ।

शिक्षण अस्पतालको बहिरंग सेवा मंगलबार फ्याकल्टीहरूले चलाए । मंगलबार नयाँ र पुराना बिरामी गरी नौ सय ६४ जनाले टिकट कटाएको त्यहाँस्थित काउन्टरको अभिलेखमा उल्लेख छ । यसअघि दिनहुँ आउने बिरामीको संख्या १५ देखि १६ सयसम्म पुग्ने गरेको थियो ।

डा. केसीको जीवन बचाउन सरकारसँग माग

औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मंगलबार विज्ञप्ति जारी गर्दै चिकित्साशास्त्र अध्ययन संस्थानलाई मेडिकल माफिया र राजनीतिक हस्तक्षेपबाट बचाउन आमरण अनशनमा बसेका डा. केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् । प्रतिष्ठित निकायको इज्जतसँग खेलबाड गर्ने र हरेक क्षेत्रमा राजनीतिक दल विशेषको गुटगत स्वार्थ पूर्ति गराउने चरित्रले संस्थानलाई नोक्सान पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ । – कान्तिपुर दैनिकबाट, तस्विर : स्वास्थ्य खबर पत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us