कांग्रेसले सहमतीय सरकारको स्वरुपमा छलफल चलाउने

काठमाण्डु टुडे २०७० पुष ३० गते ३:०३ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ३० पुस – कांग्रेसले संविधानसभाको बैठक अगावै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतीको सरकारको स्वरुप तयार पार्ने दिशामा छलफल अघि बढाउने भएको छ । कांग्रेस सभापति सुशिल कोइरालाको महाराजगंजस्थित निवासमा बसेको संसदीय समितिको बैठकले सरकार निर्माण र एक बर्षभित्र संविधान बनाउने कार्यविधिका बारेमा अन्य राजनीतिक दलहरुसँग सघन छलफल सुरु निष्कर्ष निकालेको हो ।

अन्य राजनीतिक दलसंगको छलफलका लागि यसअघि नै केन्द्रीय कार्यसमितिले पदाधिकारीहरुलाई जिम्मा दिएको थियो । एमाले नेता माधवकुमार नेपालले सोमबारनै कांग्रेसलाई सरकार निर्माणको खाका ल्याउन आग्रह गरेलगतै कांग्रेस संसदीय समितिको बैठक बसेको हो ।

 मन्त्रिपरिषदले मनोनित गर्ने सभासद्को कोटाका बिषयमा भने बैठकमा कुनै छलफल नभएको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए । बैठक सरकार निर्माण र संविधान निर्माणको कार्यविधि बनाउने बिषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

 स्रोतका अनुसार कांग्रेस सभापति सुशिल कोइरालाले पार्टीभित्र नेतृत्वको बिषयमा सहमतीबाट टुंगाउनुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिती आफ्नो अनुकुल रहेको उनले आफूलाई सहयोग गर्न आंकाक्षी देउवा र पौडेलसंग आग्रह गर्दै आएका छन ।

भित्री लबिङ जारी राखेपनि देउवाले सोमबारको बैठकमा पनि आफ्नो इच्छा राखेनन् । उनले साथीहरुसंग सल्लाह गरौला भन्दै आफ्नो बिषयमा खुलस्त नभएको स्रोतले बतायो । तर, कांग्रेस उपसभापति पौडेलले पार्टीभित्र आफूले पुर्‍याएको योगदानको कदर गरी संविाधन निर्माण गर्ने अवधिसम्मका लागि आफूलाई सहयोग गर्न कोइराला र देउवा समक्षनै प्रस्ताव गरेका थिए । पौडेलको प्रस्तावमा पनि देउवा चुप बसे । तर, पौडेलले संविधान निर्माणमा धेरै चूनौति रहेका र त्यसलाई सामाना गर्न आफ्नो अनुभवले काम गर्ने बताउदै एक बर्षका लागि सरकारको नेतृत्व पाउनुपर्ने आफ्नो दृष्टिकोण राखेका थिए । उनले बाहिर आएजस्तो सरकारका लागि पार्टीभित्र आफूले छुट्टै समूह बनाउने काम नगरेको बताएका थिए ।

अर्का नेता फरमुल्ला मन्सुरका अनुसार संविधानसभाको ८ गते बैठक बस्नुअघि एक बर्षभित्रमा संविधान जारी गर्ने गरी अन्य राजनीतिक दलहरुको सहयोगमा कार्यविधिलाई छोट्याउने बिषयमा छलफल भएको बताए । ‘संविधानसभाको बैठकमा कसरी आफ्नो कुराहरु राख्ने ? अन्य दलहरुसंग राख्ने बिषयहरु के के हुनसक्छन ? कार्यविधिक कस्तो तयार गर्ने ? जस्ता बिषयमा छलफल भएको हो,’मन्सुरले भने,’ एक बर्षभित्रमा सवै राजनीतिक दललाई सहमतीमा ल्याउनका लागि घनीभूत रुपमा बार्ता गर्नुपर्छ भन्ने निष्कर्ष आएको छ ।’

एमालेले उठाएको राष्ट्रपतिको निर्वाचनको बिषयमा पनि बैठकमा गंभिर छलफल भएको थियो । संविधानको बैठक बोलाउने बिषयमा संविधानको अक्षर अनुसार जानुपर्छ भन्ने एमालेले राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्छ भन्ने बिषयमा अडान राख्न नैतिक रुपमा नमिल्ने बताउदै कांग्रेसले यस बिषयमा कुनै संझौता नगर्ने बताएको छ ।

‘संविधानसभाको पहिलो बैठक आव्हानको बिषयमा संविधानका अक्षर अनुसार हुनुपर्छ भनी मन्त्रिपरिषद्को अध्यक्षले बोलाएको परिप्रेक्षमा राष्ट्रपतिको निर्वाचन सम्वैधानिक र व्यवारिक रुपमा पनि गर्न मिल्दैन’केसीले भने,’कांग्रेस राष्ट्रपति निर्वाचनको पक्षमा उभिदैन ।’

एक बर्षभित्र संविधान निर्माण गर्ने विशेष सूचिलाई कार्यन्वयन गराउन राष्ट्रिय सहमतीको सरकार निर्माण गर्नुपर्ने र त्यसका लागि संघन रुपमा अन्य राजनीतिक दलहरुसंग छलफल अघि बढाउने बिषयमा कुराकानी भएको केसीले बताए । – कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us