इन्धनको मुल्य बढाउने तयारीमा सरकार

काठमाण्डु टुडे २०७० पुष २६ गते १२:४७ मा प्रकाशित

oil nigamकाठमाण्डु, २६ पुस – अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा नेपाल आयल निगम घाटामा गएको भन्दै सरकारले इन्धनको मूल्य बढाउने भएको छ ।

अर्थ, वाणिज्य तथा आपूर्ति मन्त्री शंकर प्रसाद कोइरालाले खरिद मूल्य भन्दा बिक्री मूल्य कम भएकोले घाटा सहनु परेकोले अब मूल्य समायोजन प्रक्रिया शुरु गर्ने बताएका हुन् ।

नेपाल आयल निगमको ४४ औं बार्षिक उत्सवलाई शुक्रबार सम्वोधन गर्दै उनले खरिद मूल्य भन्दा बिक्री मूल्य कम भएकोले अब समायोजन गरिने बताए । भारतको रक्सौलबाट मासिक एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात हुने गरे पनि निगमको लागि निर्धारण गरिएको साढे १२ प्रतिशत ब्याजदर बढी भएको उनको भनाइ छ ।

यस्तै वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद बिडारीले हाल मासिक झण्डै दुई अर्ब रुपैयाँ घाटा रहेको जानकारी गराउदै इन्धनको समस्या समाधान गर्न पूँजी बृद्धि गर्नुपर्ने बताए ।

कर्मचारीहरुलाई धेरै सेवा सुविधा दिने संस्थाको रुपमा चिनिने आयल निगम हाल सरकारी अनुदान र ऋणको भरमा चल्दै आएको छ । सरकारी स्वामित्वमा रहेर देशमा इन्धन आपूर्ति तथा वितरण गर्दै आएको एकमात्रै संस्था नेपाल आयल निगमले घाटामा रहे पनि आफ्ना कर्मचारीहरुलाई बोनस बाँड्न भने छाडेको छैन ।

घाटामा रहे पनि कर्मचारीहरुलाई बोनस बाँडेको कारण यसअघि निगमका उच्च अधिकारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा समेत परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us