करको दायरामा नआउने विरुद्ध सरकार आक्रामक

काठमाण्डु टुडे २०७० पुष २६ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, २६ पुस – सरकारले करको दायरामा नआउने र कर नबुझाउने व्यवसायीहरुलाई कारवाही गर्ने भएको छ । माघ १ गतेदेखि कारवाही प्रक्रिया अघि बढाउने सरकारले चेतावनी दिएको छ ।

वित्तिय क्षेत्रसँग सम्वन्धित विभिन्न सरकारी निकायहरुसँग विहीबार भएको छलफलमा अर्थ, उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइरालाले करको दायरामा नआउनेहरु विरुद्ध अब सरकार आक्रामक रुपमा प्रस्तुत हुने बताए ।

सरकारले दिएको पुस मसान्तसम्मको स्कीम सकिए लगत्तै कारवाही प्रक्रिया अघि बढाउने उनको भनाई छ । कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले पनि सुविधाको उपयोग गर्न सबैलाई आग्रह गर्दै पुस मसान्तपछि कारवाही प्रक्रिया शुरु गर्ने बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले कारोबार ‘मिसम्याच’ प्रकरणमा परेका ४ हजार ६ सय व्यवसायीमध्ये अहिलेसम्म एक हजार ५७ जनाले मात्रै छुट सुविधा लिएको जानकारी गराउदै करको दायरामा नआउनेहरुलाई थप अवसर नदिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पुशपति मुरारकाले धेरै व्यवसायी दायरामा आउन बाँकी रहेकोले अझै एकपटक मौका दिनुपर्ने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us