कार्ययोजना बनाएर पर्यटन विकास

काठमाण्डु टुडे २०७० पुष २६ गते ४:२० मा प्रकाशित

बागलुङ, २६ पुस–बागलुङको गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासका लागि कार्ययोजना निर्माण गरिने भएको छ । गलकोटमा पर्यटकीय सम्भावनाको खोजी तथा पूर्वाधार विकास गर्ने उद्देश्यले स्थापना भएको गलकोट घुम्टे पर्यटन विकास मञ्च बागलुङले क्षेत्रीयस्तरको योजना निर्माण गर्न लागेको हो ।

समग्र गलकोटको पर्यटन विकासका लागि कार्ययोजना बनाएर अघि बढिने मञ्चका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । केन्द्रले गलकोट क्षेत्रका १२ वटा गाविसलाई समेटेर पर्यटन गुरुयोजना निर्माण गर्न माघको ७ गतेभित्र गाविसस्तरका पर्यटन योजना सङ्कलन गर्ने र माघ ११ गते पर्यटन परिषद्को आयोजना गर्ने भएको छ ।

पर्यटन परिषदमा संस्कृति तथा पर्यटन मन्त्रालयका प्रतिनिधि, पर्यटन कार्यालय पोखराका प्रतिनिधि, पर्यटन व्यवसायी, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहने मञ्चले जनाएको छ  । योजना निर्माणका लागि माघको पहिलो हप्ताभित्र १२ वटै गाविसमा भेला गरी गाविसस्तरका पर्यटन योजना छनोट गरी केन्द्रमा पेस गर्न आग्रह गरिएको मञ्चका सचिव राजबहादुर थापाले जानकारी दिए ।

गलकोटको पर्यटन विकासको योजना सफल बनाउनका लागि हटिया, हरिचौर र मल्मबाट कम्तीमा दुई लाख र अन्य गाविसबाट कम्तीमा एक लाख बजेट विनियोजन गर्न अपिलसमेत गरेको छ । त्यस्तै जिल्ला विकास समिति बागलुङमा ५० लाख बजेट विनियोज गर्न प्रस्ताव गरिने केन्द्रका सदस्य डिलबहादुर बुढाथोकीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us