नाट्टा ५० औं वर्षमा, राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन माग

काठमाण्डु टुडे २०७० पुष २५ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २५ पुस – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ५० औं वर्षमा प्रवेश गरेको छ ।

नाट्टाको ५० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा विहिबार आयोजित कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रका सरोकारवालाहरुले नेपालको राष्ट्रिय ध्वजावाहक कमजोर हुदाँ पर्यटन क्षेत्रले सोचेजस्तो सफलता हात पार्न नसकेको गुनासो गरेका छन ।

उनीहरुले नेपाल एयरलाइन्सलाई वलियो बनाउन जतिसके धेरै जहाजहरु ल्याउन सुझाव समेत दिएका छन ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले पर्यटन क्षेत्रको विकास गर्न नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताए ।

‘नेपाल एयरलाइन्स र थाईएयर एकैचोटी संचालनमा आएको हो, तर थाई र नेपाल एयरलाइन्स तुलान गर्न सकिदैन,’ वैद्यले भने । नेपालको पर्यटन क्षेत्रको विकास गर्नको लागि हामी कहाँ छ छौ र अव गर्ने के हो भन्ने कुरा प्रष्ट आउनु पर्नेमा जोड दिए ।

वैद्यले पर्यटनको सम्भावना पहिचान गर्न नसक्दा मुलुक पछाडी परेको गुनासो गर्दै कम्बोडियाजस्तो मुलुकले ठूलो संख्यामा पर्यटक भित्राउन सफल भएको उल्लेख गर्दै प्रसस्त पर्यटकीय सम्भावना बोकेको नेपालमा नगन्य मात्रामा पर्यटक भित्रिनु चिन्ताको विषय भएको बताए ।

‘नेपालीहरु हस्पिटालिटीमा ट्यालेन्ट छन्, विभिन्न मुलुकका ठूला–ठूला होटलहरुमा नेपालीहरुले काम गरिरहेका छन्,’ अध्यक्ष वैद्यले भने, ‘पर्यटनका लागी अपार प्राकृतीक वस्तुहरु, अतिथि सत्कार गर्ने क्षमता सबै कुराले साथ दिदाँ पनि मुलुकभित्र पर्यटक बढ्लान भन्दा घट्दै गइरहेका छन’ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले ध्वजावाहक एयरलाइन्सलाई सशक्त नबनाउनदासम्म पर्यटनको अपेक्षित विकास हुन नसक्ने ठोकुवा गरे । नेपाल वायुसेवा निगममा आन्तरिक तथा बाह्य उडान भर्ने जहाजहरुको संख्या वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यसचिव लीलामणि पौडेलले सरकार र निजी क्षेत्रको सहकार्यमा लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्नुपर्ने बताए ।

लुकेर रहेका क्षेत्रमा पर्यटन विकास गर्न सरकारले अनुदान तथा अन्य सेवा–सुविधाहरु उपलब्ध गर्नुपर्ने बताए । ‘पर्यटनको सम्भावना बोकेका भर्जिन गन्तव्यमा लगानी गर्दा तत्काल नाफा हुने नभएपछि निजी क्षेत्रलाई त्यसतर्फ आकर्षित गर्न सरकारले विभिन्न सेवा–सुविधाहरु उपलब्ध गराउनुपर्छ,’ मुख्यसचिव पौडेलले भने ।

नाट्टाका अध्यक्ष पवित्रकुमार कार्कीले अन्तर्राष्ट्रिय ट्राभल वेबसाइट ट्रीप एडभाइजरले सार्वजनिक गरेको विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुमा नेपाल विश्वमा तेस्रो र एशियाको पहिलो स्थानमा पर्नुले विदेशीका लागी नेपाल आकर्षक गन्तव्यका रुपमा रहेको पुष्टी हुने बताए ।

अध्यक्ष कार्कीले पर्यटन विकासका लागी विमानस्थलको भौतिक संरचनामा सुधार तथा राजधानीबाट लामो दूरीमा चल्ने पर्यटन प्लेटका सवारीहरुको लागी उपयूक्त पार्किङको व्यवस्था गर्न सरकारसंग माग गरे ।  साथै, उनले संख्यामा भन्दा पनि गुणात्मक पर्यटक भित्राउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

पर्यटकका लागी आवश्यक सेवा सुविधा प्रदान गर्न नसक्दा उनीहरुको बसाई अवधि औसतमा १२ दिनभन्दा बढी लम्बाउन नसकेको बताउँदै अध्यक्ष कार्कीले मनोरञ्जनात्मक सुविधाहरु बढाउन सरकारलाई सुझाव दिए ।

उनले अनुसार नेपाल आउने पर्यटकमध्ये ३९.३ प्रतिशत मनोरञ्जनको उद्देश्यले नेपाल भ्रमणमा आउने गर्दछन । नाट्टाले सो अवसरमा काठमाडौं पोष्टका संगम प्रसाईं, अनलाइन मिडियाका रमेश तिवारी र माउन्टेन टिभीका केदार कोइरालालाई सम्मान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us