‘उत्पादनमूलक क्षेत्रमा सहकारी अभ्यास लक्षित हुनुपर्छ’

काठमाण्डु टुडे २०७० पुष २५ गते १०:२६ मा प्रकाशित

khilraj regmiललितपुर, २५ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उत्पादनमूलक क्षेत्र तथा औद्योगिक विकासमा सहकारी अभ्यास लक्षित हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सहकारी संघ लिमिटेडको २१ औँ वार्षिक साधारण सभाको विहीबार ललितपुरमा उद्घाटन गर्दै रेग्मीले सहकारीका माध्यमबाट आर्थिक गतिविधि अभिवृद्धि गर्न लघु उद्यममार्फत स्थानीय उत्पादन र व्यावसायिक क्रियाकलापलाई विस्तार गर्नुपर्ने बताएका हुन् ।

उदार अर्थतन्त्र अपनाइएको हाम्रो जस्तो प्रणालीमा आर्थिक विकासका क्रियाकलापमा जति चुनौतीहरु रहेका छन् उत्पादन र बजार प्रवद्र्धनका दृष्टिले अवसरहरुको सम्भावना पनि अत्यधिक रहेको रेग्मीको भनाई छ ।

उनले आगामी दिनमा स्थानीय श्रम, सीप र पुँजी परिचालन गरी नेपाली जनशक्तिको प्रयोग तथा राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि उपलब्ध स्रोतसाधनको समुचित प्रयोगमा सहकारीहरुको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिए ।

कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारी अभियान राष्ट्र निर्माण, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्नेमा जोड दिए ।
यस्तै नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले स्वाधीन अर्थतन्त्र निर्माणका लागि सहकारी आवश्यक रहेको उल्लेख गर्दै सहकारीलाई नयाँ गति दिन आफ्नो तर्फबाट हरप्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले वार्षिक प्रतिवेदन प्रस्तुत रेका थिए ।

प्रतिवेदन पेश गर्दै बडालले सहकारीमा शिक्षा र शिक्षामा सहकारी भन्ने नारालाई मूर्तरुप दिन सहकारी अभियानकै मागअनुरुप सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट माध्यमिक तहको कक्षा ९, १० तथा उच्च माध्यमिक तहको कक्षा ११ र १२ मा ऐच्छिक विषयका रुपमा सहकारीको अध्ययन अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको र आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने अपेक्षा गरिएको बताए ।

उनका अनुसार यस संस्था हालसम्म २९ हजार ५ सय २६, जिल्लास्तरीय संघ २ सय ८० र केन्द्रीय संघ १७ आबद्ध छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us