लद्यु उद्यममा महिलाको आकर्षण बढ्दो

काठमाण्डु टुडे २०७० पुष २५ गते ३:०६ मा प्रकाशित

बेनी, २५ पुस–म्याग्दीको घराम्दी गाउँका महिला लद्यु उद्यमतर्फ आकर्षित भएका छन् । थोरै लगानीमा गर्न सकिने, छिटो प्रतिफल प्राप्त हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि स्थानीय सीप र स्रोतमा आधारित लद्युउद्यमतर्फ आकर्षित भएका हुन् ।

हिस्तान गाविसको १ र २ नम्बर वडामा पर्ने घराम्दी गाउँका बसोबास गर्ने १ सय १० घरपरिवारमध्ये अधिकांश महिला खरायो, बाख्रापालन, तरकारी र स्ट्रबेरी खेतीसम्बन्धी उद्यममा आबद्ध भएका छन् । आयआर्जनका लागि गाउँका धेरैजसो पुरुष वैदेशिक रोजगारी, व्यापार, व्यवसाय र अन्य पेसामा संलग्न भए पनि घरायसी काम र खेती किसानीमा सीमित स्थानीय महिला लद्यु उद्यममा आबद्ध भएपछि जीविकोपार्जनका लागि सहज भएको छ ।

वर्षौंदेखि खरायो र बाख्रा पाल्दै आएका घराम्दीवासीले अहिले सो पेसालाई व्यावसायिक बनाएपछि गाउँकै मुख्य आयस्रोतका रुपमा विकास हुन थालेको छ । गाउँबाटै २ सय रुपैयाँ प्रतिकिलोका दरले खरायो बिक्री हुन थालेपछि खरायोपालनलाई विस्तार गरी व्यावसायिक बनाउने क्रम बढेको स्थानीय सवनश्री पुर्जाको भनाइ छ । गाउँका ८० भन्दा धेरै महिला खरायोपालनमा आबद्ध छन् ।

स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले ग्रामीण क्षेत्रका बासिन्दाको आयआर्जन वृद्धिका लागि तरकारीखेती, खरायो, बाख्रापालनलगायत पेसालाई व्यावसायिक र थप व्यवस्थित बनाउनका लागि सिँचाइ तथा बजारीकरण सम्बन्धित योजनालाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us