
काठमाण्डु, २४ पुस– नेपाल राष्ट्र बैंकले बुधबार साढे उन्नाइस अर्बको रिभर्स रिपो जारी गरेको छ ।
वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी योग्य पुँजी (तरलता) को मात्रा अत्यधिक बढेपछि राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थासँग भएको सो निक्षेप रकम संकलनका लागि सात दिनको ट्रेजरी बिल्स जारी गरेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए ।
उनले मौद्रिक नीतिअनुरुप बजारमा पुँजीको माग र आपूर्तिलाई सन्तुलन गर्न सो कार्य गरिएको उल्लेख गर्दै सो पुँजी पुनः ती बैंक तथा वित्तीय संस्थामा फिर्ता हुने बताए । चालु आर्थिक वर्षमा गत भदौ महिनादेखि बुधबारसम्म राष्ट्र बैंकले आठौं पटक रिभर्स रिपो जारी गरेको बताएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूसँग अधिक मात्रामा तरलता रहँदा निक्षेपको व्याजदर कम भई पुँजी पलायन हुनसक्ने, अस्वभाविकरुपमा मूल्यवृद्धि हुने, वित्तीय संस्थाको मुनाफा प्रभावित हुने र सरकारको राजस्वमा समेत नकारात्मक असर पर्ने अर्थविज्ञहरूको धारणा रहेको छ ।
वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी योग्य पुँजी अत्याधिक रहेको र संविधानसभाको निर्वाचनपछि पनि स्थायी सरकार गठन हुन नसक्दा अपेक्षित रुपमा कर्जा प्रवाह र पुँजी लगानी हुन नसकेको बताइएको छ ।