व्यापारिक क्रियाकलाप बन्द गर्न अमेरिकी दूतावासलाई भारतको चेतावनी

काठमाण्डु टुडे २०७० पुष २४ गते १३:४२ मा प्रकाशित

नयाँ दिल्ली, २४ पुस– भारत र अमेरिकाबीच कूटनीतिक विवादका समयमा भारत सरकारले अमेरिकी दूतावासलाई नयाँ दिल्लीमा खेल तथा मनोरञ्जन केन्द्रमा व्यापारिक क्रियाकलाप बन्द गर्न भनेको छ ।

विदेश मन्त्रालयले दूतावासलाई जनवरी १६ सम्म अमेरिकी सामुदायिक सहयोग संघको व्यापक क्षेत्रमा गैरकूटनीतिक कर्मचारीलाई सेवा प्रदान नगर्न भनेको छ ।

यस क्षेत्रमा व्यापारिक सदस्यहरुले पौडीपोखरी, शारीरिक अभ्यास केन्द्र, अन्य खेलस्थलका साथमा बार तथा रेस्टुराँमा लाखौँ डलर तिरिरहेका छन् ।

यहाँ आयातित मदिरा तथा खाना निकै कम मूल्यमा उपलब्ध गराइन्छ । यी सुविधा दूतावासको कूटनीतिक कर्मचारीका लागि मात्र भएको र यसलाई हाल व्यापारिक रुपमा गैरकूटनीतिक व्यक्तिहरुलाई पनि सेवा प्रदान गर्न उपयोग गरिएको विदेश मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयका अधिकारीहरुले भन्सार नलिइएको आयातित मदिरामा नियन्त्रण लगाइएपछि तथा गैरकूटनीतिक कर्मचारीलाई एसीएसए उपयोग गर्न प्रतिबन्ध लागेपछि यो केन्द्र आर्थिक रुपमा कायम रहन नसक्ने बताएका छन् ।

विदेश मन्त्रालयले राजधानीका ट्राफिक तथा यातायात अधिकारीहरुलाई अमेरिकी कूटनीतिक गाडीहरुलाई ट्राफिक जरिवानामा उन्मुक्ति नदिन निर्देशन दिएको बताइएको छ । डिसेम्बर १२ मा न्यू योर्कमा रहेको भारतीय वाणिज्यदूतावासका अधिकारी देवयानी खोब्रागडेलाई पक्राउ गरेपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिएको छ ।

खोब्रागडेले आफूलाई नांगो पारी खोजतलास गरिएको बताएकी छन् । खोब्रागडेलाई अमेरिकी प्रवेशाज्ञाका विषयमा जालसाँज गरेको तथा आफ्ना घरेलु सहयोगीलाई न्यूनबेतन दिएको आरोपमा पक्राउ गरिएको थियो ।

भारतले खोब्रागडेले कूटनीतिक उन्मुक्ति पाउनु पर्ने दाबी गरेको छ र उनीमाथि गरिएको व्यवहारबाट क्रुद्ध बनेको छ । खोब्रागडेलाई पक्राउ गरिएको एक सातामा भारतले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासअगाडि राखेको बाधा हटाएको थियो । यी बाधा सन् २००१ को सेप्टम्बर ११ को आक्रमणपछि राखिएको थियो ।

भारतीय विदेशमन्त्री सलमान खुर्सिदले खोब्रागडेलाई भारत फर्काइ उनको आत्मसम्मान पुनस्र्थापना गरिने बताउनुभएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us