
खोटाङ, २४ पुस–विद्यालयमा बोर्ड मार्करको प्रयोग हुन थालेपछि खोटाङको मात्तिममा १३ वर्षअघि देखि सञ्चालनमा रहेको चक उद्योग बन्द भएको छ । चक खपत हुने प्रत्येक विद्यालयहरुमा ह्वाइट बोर्डका साथमा बोर्ड मार्करको प्रयोग हुन थालेपछि मात्तिम–३ बिर्तामा रहेकोे जिल्लाकै एक मात्र जयपती चक उद्योग बन्द भएको हो ।
बर्षमा ५६ हजार बट्टा बिक्री हुने गरेको चक उद्योग बन्द भएपछि उद्योगका सञ्चालक मारमा परेका छन् । २०५७ सालदेखि सञ्चालन हुँदै आएको उद्योग बन्द भएपछि आम्दानीको स्रोत गुमेको जयपती चक उद्योगका सञ्चालक शिव ढकालले बताए ।
ह्वाइट सिमेन्ट, प्लास्टर पेरिस, चाइनिज माटोबाट बनाइने चक जिल्लाबाहेक छिमेकी जिल्ला भोजपुरमा समेत खपत हुँदै आएको थियो । विद्यालयमा बोर्ड मार्करहरु प्रयोग हुनुअघि प्रायः जिल्लाका सबै विद्यालयमा यही उद्योगमा उत्पादन गरिएको चकको प्रयोग हुने गरेको थियो ।