चीनमा निजी बैंक खोल्न अनुमति

काठमाण्डु टुडे २०७० पुष २३ गते १३:४२ मा प्रकाशित

सांघाइ, २३ पुस– चीनले बैंकिङ क्षेत्रलाई थप खुला बनाउने प्रयासको रूपमा यो वर्ष तीनदेखि पाँचवटा पूर्ण रूपमा निजी कम्पनी स्थापना गर्न अनुमति दिने भएको छ ।

चिनियाँ बैंकिङ नियामक निकाय सीबीआरसीले विद्यमान बैंकको पुनर्संरचनामा निजी पूँजीको प्रयोग गर्न दिइने वा उनीहरूलाई आफ्नै जोखिममा नयाँ बैंक स्थापना गर्न दिइने जानकारी दिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । सीबीआरसीले पहिलो चरणमा परीक्षणको रूपमा तीनदेखि पाँच निजी बैंकस्थापना गर्न दिइने जनाएको छ ।

आफूहरुले अघि सारेका सर्त पालना गरे ती बैंकलाई अनुमति दिइने सिबिआरसीले जनाएको छ । चीनमा कम्युनिस्ट अधिकारीहरूले अर्थतन्त्रमा बलियो रूपमा नियन्त्रण कायम गरेका छन् ।

चीनका राष्ट्रिय वा स्थानीय स्तर दुबैमा सरकारी स्वामित्वमा बैंक रहेको छ । सीबीआरसीले चीनमा बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहने विदेशी लगानीमाथिको नियन्त्रण पनि विस्तारै खुकुलो बनाउँदै लैजाने दृढता व्यक्त गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us