
कञ्चनपुर, २३ पुस– कञ्चनपुरको चुरे क्षेत्रका सामुदायिक वनले चरिचरनमा पूर्ण रुपमा बन्द गरेपछि कृष्णपुरका व्यावसायिक बाख्रापालन व्यवसायमा लागेका व्यक्तिहरू मार्कामा परेका छन् ।
चुरे फेदीका स्थानीय बासिन्दाले चरिचरन बन्द भएपछि बाख्रापालन व्यवसायबाट पलायन हुन थालेका छन् । चरिचरन बन्द भएपछि कृष्णपुर गाविसका दोमिल्ला, पहरिया र बेलडाँडी क्षेत्रका ८ सयभन्दा बढी बाख्रापालनमा लागेका बासिन्दा प्रभावित भएका छन् ।
तीन दशकदेखि बाख्रापालन गर्दै आएका यहाँका बासिन्दाले चरिचनको अभावमै उधारोमै व्यापारीलाई बाख्रा बिक्री गर्नुपरेको बताएका छन् । बाख्रा चराउनका लागि वन क्षेत्र नभएपछि आफूसँग भएका दुई सय बाख्रा धनगढीका व्यापारीलाई सस्तोमै उधारोमै बिक्री गर्नुपरेको दोमिल्लाका जनक बुढाले बताए ।
चराउने डाउँ नहुँदा बाख्रा सस्तोमा बेच्नु परेको किसानहरुले बताएका छन् । वार्षिक रुपमा ६० हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी गर्दै आएका यस क्षेत्रका किसानको आम्दानीको स्रोतसमेत बन्द भएको छ ।
रासस