अब मानिसमा सुँगुरको किड्नी ?

काठमाण्डु टुडे २०७० पुष २३ गते ८:२७ मा प्रकाशित

pigकाठमाण्डु, पुस  – नेशनल किड्नी फाउण्डेशन अमेरिकाको एक अध्ययनका अनुसार अमेरिकाभर ९६ हजार ६ सय ४५ बिरामीहरु किड्नी प्रत्यारोपणका लागि प्रतिक्षासूचीमा छन् । यसमध्ये किड्नीदाताको अभावमा १७ हजार मानिसको मात्र प्रत्योपण गरिन्छ ।

तर, अब किड्नीको अभावमा छट्पटिएका बिरामीका लागि खुशीको खबर आउन सक्छ, त्यो हो सुँगुरको किड्नीको विकल्प । अनुसन्धानकर्ताहरु मानिसमा सुँगुरको किड्नी प्रत्यारोपण गर्न सकिने या नसकिने बारे अनुसन्धान गरिरहेका छन् ।

फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले अहिले मानिसको स्टेम सेललाई इन्जेक्सनको प्रक्रियाबाट सुँगुरको किड्नीमा पठाई प्रयोगबारे अध्ययन गरिरहेका छन् ।

स्टेम सेल सुँगुरको किड्नीले लिएमा त्यसलाई मानिसमा प्रत्यारोपण गर्न सकिने अनुसन्धाकर्ताको विश्वास छ । यो प्रक्रिया सफल भएमा सुँगुरको किड्नी प्रत्यारोपण गरी हजारौं मानिसको ज्यान बचाउन सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

कसरी हुन्छ यो सम्भव ?
अनुसन्धानकर्ताहरुका अनुसार पहिलो प्रक्रियाका रुपमा बिरामीको स्किन सेल निकालिन्छ र केही रासायनिक पदार्थ र वृद्धि हुने विशेष तरिका प्रयोग गरेपछि त्यो सेल स्टेम सेल्समा परिणत हुन्छ । त्यसपछि सुँगुरको किड्नीको सबै सेललाई डिसेलुलाइजाइसेन प्रक्रियाद्वारा सफा बनाइन्छ ।

अनुसन्धाकर्ताहरुले अंगलाई क्षति नहोस् भन्नका लागि यो प्रक्रियामा विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । यो प्रक्रियापछि सुँगुरको किड्नी स्वच्छ हुन्छ र मानव सेल वृद्धि हुनका लागि तयार हुन्छ ।

अध्ययनमा सामेल डा. रोसका अनुसार स्टेम सेलहरु निश्चित स्थानमा राखियो भने तिनीहरुले कसरी वृद्धि हुने भन्ने कुरा आफैं थाहा पाउँछन् । त्यसपछि सुँगुरको सेल र मानिसको सेलबीच आपसी सञ्चार हुन्छ र मानिसको सेलले सुँगुरको किड्नीमा काम गर्न थाल्छ ।

अनुसन्धानकर्ताहरु अहिले सुँगुरको किड्नी कसरी विकसित हुन्छ भन्नेबारेमा पर्खिरहेका छन्,गत वर्ष पनि मुसाको अंगमा मानव सेल राख्ने विषयमा सफलता प्राप्त गरेका थिए ।

यो पछिल्लो अध्ययन सफल भएमा बिरामीले किड्नी नपाएर मर्नुपर्ने अवस्था नआउनुका साथै प्रत्योपणपछि एन्टी रिजेक्सन औषधी प्रयोगमा पनि कमी आउने विश्वास अनुसन्धानकर्ताको छ  । तर, यो अनुसन्धान सफलताको ढोकासम्म पुग्न धेरै बाटो तय गर्नुपर्ने र यसलाई यथेष्ठ आर्थिक सहयोग पनि प्राप्त हुनुपर्ने उनीहरुको भनाई छ ।

स्रोत : स्वास्थ्य खबरपत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us