
बर्दिवास, २३ पुस – जलेश्वरस्थित महोत्तरी कारागारमा बढ्दो जाडोले कैदी थुनुवाको बिजोग भएको छ । खचाखच भरिएको कारागारमा बस्ने, खाने र सुत्ने ठाउँको अभावसँगै लुगासमेत नहुँदा मुटु कमाउने जाडोमा कैदी थुनुवाको बिजोग भएको हो ।
जम्मा १३५ जना कैदी थुनुवा राख्ने क्षमताको कारागारमा अहिले झन्डै चोब्बरभन्दा बढी कैदी बन्दी राखिएपछि ठाउँको अभाव भएको छ । मङ्सिर अन्तिम सातादेखि सुरु भएको पश्चिमी चिसो वायु बहने क्रम पछिल्लो साता झनै बढेपछि ठाउँको अभावमा आपूmहरुको बसाइँ कष्टकर बनेको कैदी थुनुवाले बताएका छन् ।
ठाउँको अभावमा राम्ररी गोडा पसारेर सुत्ने ठाउँसम्म नपाइएको कैदी थुनुवाको गुनासो छ ।
पुरुष र महिला गरी दुई छुट्टाछुट्टै कक्ष रहेको कारागारमा अहिले ४८६ जना कैदी थुनुवा रहेका कारागार प्रशासनले जनाएको छ । जसमा महिला कक्षमा छ आश्रित बालबालिकासहित ४५ जना र पुरुष कक्षमा ४४१ जना रहेका कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए । यो सङ्ख्या कारागारको १५७ वर्षकै इतिहासमा सर्वाधिक भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा अहिले लगातार बढेको जाडो छल्न लगाउने न्यानो लुगा, ओढ्ने कम्बल र आगो ताप्न दाउराको प्रबन्ध नहुँदा थुरथुरी कामेर नै रात बित्ने गरेको कैदी थुनुवाको भनाइ छ ।
जाडोयाममा लगाउने न्यानो लुगा, ओछ्याउन राडी र सुकुल (पराले गुन्द्री) एवम् ओढ्न कम्बल कैदी थुनुवाले पाउने व्यवस्था भए पनि कारागार व्यवस्थापनले सोबारे चासो नदिँदा यसपालिको जाडोबाट बच्ने आश मरेको जिल्लाकै पिपराका बासिन्दा कर्तव्य ज्यान मुद्दाका कैदी ८२ वर्षीय ढोडाई साहले बताए ।
यता कारागार प्रशासनले भने कारागार व्यवस्थापन विभागमा यी सामानको माग गरिए पनि आउन ढिलाइ भएकाले वितरण गर्न नपाइएको जनाएको छ ।
अब एक साताभित्र उनीहरुलाई ती सामान वितरण गरिने कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए ।
जाडोमै दिनुपर्ने कपडा वितरणमा ढिलाइ हुँदा मुटु कमाउने जाडोमा कैदी थुनुवा बिरामी हुने क्रम बढेपछि जिल्लाका मानव अधिकारकर्मीले कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
मौसमी कारणबाहेक खानेपानी, शौचालय प्रयोग र नुवाइधुवाईमा समेत निकै दुःख खेप्नु परिरहेको कैदी थुनुवाको गुनासो छ । पुरुष कक्षका ४४१ जनाका लागि एउटा चापाकल, एउटा धारा र दुईवटामात्र शौचालय हुँदा नुवाइधुवाई, शौचालय प्रयोग र खानेपानी लिन पनि आफ्नो पालो पर्खन घन्टौँ कुर्नु परिरहेको कैदी थुनुवाले बताएका छन् ।
महिला कक्षका ४५ जनामा पनि एउटामात्र चापाकल र एउटै शौचालय हुँदा गाह्रो पर्ने गरेको महिला कैदी थुनुवाको भनाइ छ ।
कैदी थुनुवाका यी समस्याबारे कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासनलाई जानकारी गराइए पनि कुनै थप काम हुन नसकेको कारागार प्रशासनले जनाएको छ ।
यसैबीच जिल्लाका मानव अधिकारकर्मीले कैदी थुनुवाले पाउने कानुनी व्यवस्थाअनुसारका सामान र सुविधा तत्काल प्रवाह गर्न कारागार प्रशासन एवम् संवद्ध निकायसँग माग गरेका छन् ।