धुम–३ र धोवीघाट – २

काठमाण्डु टुडे २०७० पुष २३ गते ४:४८ मा प्रकाशित

Netra-Panthiअहिले हिन्दी चलचित्र ‘धुम–३’ को जमाना छ । धुम–१ र २ ले जस्तै धुम–३ ले पनि बक्स अफिसमा धमाका पिटेको छ । तीन सय करोडको बिजनेस गरेको छ यो चलचित्रले । फिल्म निर्माता आदित्य चोपडा र आमिर खानले नाफा कमाएका छन् । आमिर खान र कट्रिना कैफको जोडीले वाहवाही पाएको छ । अभिषेक बच्चनजस्ता स्टारले जबर्जस्त भूमिका निभाएका छन् ।

बलिउडमा धमाका मच्चाएको धुम–३ पर्दाको कथा हो । तर, नेपालमा अहिले राजनीतिमा यस्तै कथा बनाउने पहल भएको छ । आदित्य चोपडा र आमिर खानका स्टाइलमा एकीकृत माओवादीभित्र संस्करण–२ चर्चामा छ । हिन्दी फिल्ममा खास रुचि राख्ने डा.बाबुराम भट्टराई र प्रकाशले आदित्य चोपडा र आमिर खानको शैलीमा अहिले धोबीघाट–२ बनाउने रुचि राखेका छन् । हिन्दी फिल्म धुम–३ जस्तै बाबुराम र प्रकाशले पनि माओवादीभित्र धोबीघाट–२ बनाउन सक्लान् त ? बडो चासोका साथ हेरिएको छ । फिल्मी दुनियाँको कथा हेरेर घाट बनाउन कति सहज होला ? माओवादीभित्र अहिले धोबीघाट–२ सम्भव होला ? यसका लागि निर्माता को हुने ? निर्देशक को हुने ? र अभिनय कसले गर्ने ? यसको विषयमा चर्चा–परिचर्चा गर्दा नै अहिले माओवादी नेता, कार्यकर्ताका लागि मसला बन्न सक्छ ।

धोबीघाट–२ को चर्चा कहाँबाट सुरु भयो ?

संविधानसभाको चुनावमा झन्डै ८ रेक्टरको धक्का आएपछि एकीकृत माओवादीका नेताले भयंकर झट्का महसुस गरे । पहिला धाँधली भएको कुरामा जोड दिए । पछि आयोग बनाउने अमूर्त सहमतिमा यो कुरा साम्य पारे । संविधानसभामा जाँदैनौँ भनेका थिए । फेरि जाने भने । चुनाव हारेपछि त्यसको जिम्मा कसले लिने भन्ने बहस भयो । बाबुराम र प्रकाशले प्रचण्डकै टाउकोमा दोष दिए र आफूहरूको भूमिकाको नकाब उतारे । प्रचण्ड हारमा दोषी छैनन् भन्ने त होइन नि ! बरु कुरा त प्रकाश र बाबुराम पानीमाथिको उभानो कसरी भए भन्ने पो हो त । अरू त ठीकै छ रे, कम्तीमा प्रकाशले मकवानपुर र बाबुरामले बुटवल जितेका भए दोष जतिसुकै प्रचण्डको टाउकोमा हाले पनि हुन्थ्यो । आफै चुनाव जित्न नसक्ने चाहिँ किन नि ? कि बाबुराम र प्रकाशलाई पनि प्रचण्डले नै हराएका हुन् ? आफूले सानदार तरिकाले चुनाव जितेर पार्टीले नराम्रोसँग हार व्यहोरेको भए पो दोष जसलाई दिए पनि हुन्थ्यो । राजनीति त इन्डियन सर्कस होइन । धुम–३ सर्कसको कथामा आधारित छ । कथा स्क्रिप्टको होइन र रियालिटी हो भने आफ्नै भूमिका जान्न नसक्ने बाबुराम र प्रकाशले कसरी बनाउन सक्छन् धोबीघाट–२ ?

धोबीघाट–को कठिनाइ

बाबुराम र नारायणकाजीबीचको सम्बन्ध ३६ को आँकडामा छ । एउटा पूर्व र अर्को पश्चिम फर्केकाबीच मिलाप हुने कुरा गाह्रो काम हो । धेरै टाढा जानु पर्दैन, कमरेड प्रकाश र बाबुरामबीचको दूरी कति थियो भन्ने बुझ्न भट्टराई नेतृत्व सरकारको एउटा घटना याद गरे हुन्छ । बाबुरामले बिप्पा सम्झौता गरे भारतमा गएर । प्रकाशले विरोध गरे । बाबुराम प्रधानमन्त्री हुँदा नारायणकाजी परराष्ट्रमन्त्री थिए । बाबुरामले राष्ट्रिय हितविपरीत काम गरे भनेर भित्रभित्र प्रकाशले विरोध पनि गरेकै थिए । एकीकृत माओवादीबाट मोहन वैद्य किरणहरू अलग भएपछि माओवादीभित्रको राष्ट्रियताको ठेक्का प्रकाशकै थियो जस्तो गर्थे उनी । भारतसँग मेरो राम्रो सम्बन्ध हुन सकेन भनेर प्रकाश कमरेडले कुण्ठा व्यक्त गरेका हुन् वा साँच्चै राष्ट्रियताको चिन्ता लागेर यसो गरेका हुन् ? यसै भन्न सकिन्न । जब बाबुरामले बिप्पा गरे, प्रकाशले विरोध पनि गरे र पराष्ट्रमन्त्री पनि भइराखे । यसैकारण उनको राष्ट्रियताको कुरा नक्कली हो वा सक्कली अरू परीक्षाले मात्र निश्चित गर्न सक्छ । बाबुरामलाई अहिले पनि नारायणकाजीले नक्कली कुरा गर्छन् भन्ने लागेको छ । यी दुई परस्पर धारणा भएका नेता कसरी एकै ठाउँ आउलान् ? शंका छ । प्रकाश र बाबुरामबीच कुनै गठजोड भयो भने त्यो अप्राकृतिक देखिनेछ राजनीतिक वृत्तमा । त्यस्तो अप्राकृतिक सम्बन्धले न गर्भ रहन सक्छ न कुनै जन्म नै ।

धोबीघाट–१ का वेला भिन्नै शक्ति सन्तुलन थियो माओवादीभित्र । किरण, बाबुराम र प्रकाश तीनवटै समूहको मोर्चा बनेको थियो । धोबीघाट–१ बाट सुरु भएको लडाइँ पार्टी विभाजनमा गयो । किरण र बादलहरू अलग भए ठूलो शक्तिका साथ । धोबीघाटका योजनाकार किरणहरू नै थिए । बाबुराम र प्रकाश त मिसिन गएका थिए । सबैका आ–आफ्ना स्वार्थ थिए । बाबुराम प्रधानमन्त्री भए । प्रकाशले उपप्रधानमन्त्री हुने मौका पाए । प्रकाश र बाबुरामलाई जोड्ने रसायनको काम गरेका किरण अलग भएपछि धोबीघाट–२ सजिलो छैन । अहिले फेरि माओवादी ठूलो पार्टी पनि छैन । धोबीघाट–२ गरेर प्रधानमन्त्री पाइने अवस्था पनि छैन । लाभ नहुने भएपछि धोबीघाट–२ को पछाडि किन लाग्थे बाबुराम र प्रकाश कमरेडहरू । अझ यहाँ रोचक र डरलाग्दो तथ्य अर्को पनि छ । प्रचण्डसँग सबैभन्दा नजिक कोही थिए भने किरण र बादल नै थिए । बाबुराम र प्रकाश त प्रचण्डका नजरमा सहपाठी मात्र हुन् । किरण र बादलजस्ता आत्मीय मित्रलाई त्याग गर्न सकेपछि प्रचण्डसँग अब रोई–कराई गर्नपर्ने ठाउँ छैन । यति भएपछि प्रचण्ड अब थर्काएर थर्कने मनोविज्ञानमा छन् जस्तो देखिँदैन । जब धोबीघाट–२ को हतियारले पनि प्रचण्डमाथि प्रहार पुग्दैन भने बाबुराम र प्रकाशले किन यस्तो बाटो समाउलान् ? भन्न त सकिन्छ धोबीघाट–२, तर गर्न कठिन छ । पहिलो धोबीघाटका निर्माता–निर्देशक किरण नभएपछि धोबीघाट–२ कसले बनाउने । बाबुराम र प्रकाश आफै निर्माता–निर्देशक बन्छन् भन्ने थोरैलाई मात्र विश्वास छ ।

धोबीघाट–२ को चर्चा राजनीति र वैचारिकभन्दा पनि भागबन्डमा केन्द्रित भयो । यहीँबाट गम्भीर समस्या र आशंका पैदा भए । धोबीघाट–१ सम्म प्रकाश र बाबुरामका समूह मजबुतै थियो । त्यसयता दुवैजना पार्टीभित्र कमजोर भएका छन् । आफ्नै भनिएका नेताले साथ दिन्छन् कि दिँदैनन् ? भन्न सकिन्न । राष्ट्रिय सम्मेलन बोलाउने छलफल सुरु भएको छ । धेरैलाई भविष्यको राजनीति यात्रामाथि चिन्ता छ । बाबुराम र प्रकाशका पछाडि लाग्दा आफूहरू सुरक्षित भइन्छ वा भइँदैन, धेरै केन्द्रीय सदस्यले यहीँबाट सोचेका होलान् । बाबुरामसँग दिनानाथ शर्मा किन रहेनन्, राम कार्की किन बाबुराम नै ठीक हुन् भन्ने ठाउँमा छैनन् । खिमलाल देवकोटा र देवी खड्कालाई बाबुरामले किन सभासद् बनाउन सकेनन् ? प्रकाश र अमिक शेरचनबीचको दूरी कति छ ? प्रकाशले चाहेर पनि अन्जना विशंखेलाई किन सभासद् बनाउन सकेनन् ? यो प्रश्नमा धोबीघाट–२ मा जानुपूर्व माओवादीका नेताले अवश्य पनि सोच्छन् होला । बाबुराम र प्रकाश दाइ भन्दै हिँडेर सिंगो पार्टीको नेता भइन्छ कि भइँदैन ? अर्को चुनाव जितिन्छ वा जितिँदैन ? यता पनि सोच्ने होलान् माओवादी नेताले । यस्तो कठिन मोडमा धोबीघाट–२ सहज छैन ।

प्रचण्डका कमजोरी

एक अर्को पक्ष छ धोबीघाट–२ बारे । अन्तरसंघर्ष चरम थियो र वैद्यहरू नयाँ पार्टीको सोचमा पुगेका थिए धोबीघाट–१ मा । त्यतिन्जेल उनीहरूले, संगठनभित्र संगठन, योजनाभित्र योजना र कार्यक्रमभित्र कार्यक्रम बनाइसकेका थिए । अहिले प्रकाश र बाबुराम त्यो तहमा छैनन् । राजनीति हिसाबले खास फरक मुद्दा छैनन् प्रचण्डसँग बाबुराम र प्रकाशका । अनि कसरी बन्न सक्ला अर्को धोबीघाट ? धुम–१ का जोन इब्राइम र धुम–२ का ऋतिक रोशन धुम–३ मा छैनन् । यस्तै अभिनयका केही पात्र धोबीघाट–२ मा हुँदैनन् । उनीहरूको अभाव बाबुराम र प्रकाशले महसुस गर्ने नै छन् ।

त्यसकारण तत्कालका लागि धोबीघाट–२ फिल्म बन्नुभन्दा पहिलाको स्क्रिप्ट त होला तर सुटिङ भएर पर्दामा आउन गाह्रो छ । यति भएपछि माओवादीभित्रको अहिलेको अन्तरविरोध कसरी हल हुन्छ त भन्ने प्रश्न उठ्छ । अब अन्तरविरोध धोबीघाटको फर्मेटमा खोज्ने होइन । यसका लागि पदीय बाँडफाँडका वेला होइन कि अरू समयमा पार्टीभित्रका समस्याबारे बहस गर्नुपर्छ । पद बाँड्ने वेला हुने बहस राजनीति हुँदैनन् र आममानिस र कार्यकर्ताले स्वाभाविक रूपमा लिँदैनन् । माओवादीभित्र जनवादको चरम समस्या छ । पार्टीभित्र संस्थापनकै खेमामा केही भाइरस छन्, जसले प्रचण्डलाई नोक्सानी मात्र पुर्‍याएका छन् । राजनीतिक र प्राविधिक हिसाबले संविधानसभा क्रान्तिकारीको पहलभन्दा बाहिर गयो भन्ने निश्कर्षमा पुगेका प्रचण्डले बाबुराम र प्रकाशको चित्त बुझ्ने गरी सभासद् दिएका भए के बिग्रन्थ्यो ।

धोबीघाट–२ तत्काल सम्भव छैन भन्ने जोडकोण बुझेर प्रचण्डले बाबुराम र प्रकाशलाई पेल्न खोजे, जुन राम्रो होइन । यो प्रचण्डकै दिमागले भयो वा अरूकै दिमागले काम गर्‍यो ? जान्न खाँचो छ । सुनिएअनुसार यो काण्डमा कुनै भाइरसले काम गरेको छ । प्रचण्ड र उनको खेमामा नोकरशाही प्रवृत्ति छ भन्नेमा त शंका नै भएन । संविधानसभाको मोर्चा बहिष्कार गर्छौं भन्नेहरूले किन सभासद् हुन मरिहत्ते गर्ने नि ? प्रचण्डलाई रवीन्द्रप्रताप शाह र जाकिर हुसेन किन प्यारा लाग्छन् ? पार्टी चलाउन नसक्नेले देश कसरी चलाउँछन् भनेर प्रचण्डमाथि प्रश्न त उठ्ने नै भए ।

माथिका कुरा त धोबीघाटसँग चर्चाका कुरा भए । अब रह्यो ‘लाजिम्घाट’ (प्रचण्ड निवास लाजिम्पाटलाई दिएको संज्ञा) को समस्या । अहिले ‘लाजिम्घाट’ले जनवादलाई निषेध गरेर फाँसीवादको अवलम्बन गर्दा प्राप्त उपलब्धि गुम्ने खतरा हुन्छ भन्ने भुलेको छ । प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धि पार्टीको जनवादीकरण, नेतृत्वको जनवादीकरण, आन्दोलनको जनवादीकरण, पार्टी समितिको जनवादीकरण र आचार, विचार एवम् व्यवहारको जनवादीकरण चाहिन्छ भन्ने कुरामा पनि ‘लाजिम्घाट’को चासो छैन । कम्युनिस्ट पार्टीमा संगठनको सञ्चालन जनवादी केन्द्रीयताको पद्धतिअनुसार हुन्छ भन्ने कुरा कागजमा सीमित पार्न चाहन्छ ‘लाजिम्घाट’ । केन्द्रीयतामा जोड दिँदा पार्टी नोकरशाही बन्ने खतरा हुन्छ भन्नेमा पनि ‘लाजिम्घाट’ले आँखा चिम्लेको छ । सामन्ती समाज नोकरशाही हुन्छ, त्यसैले त्यसलाई जनवादीकरण गर्नुपर्छ भन्नेमा पनि ‘लाजिम्घाट’को ध्यान गएको छैन । समाज बदल्ने अभियानमा छौँ भन्नेले आफैँलाई रुपान्तरण गर्न सक्दैनन् भने उनीहरूका कुरा कसले मान्ने ? किन मान्ने ? यो प्रश्नलाई लाजिम्घाटले त्यति गम्भीरताका साथ लिएको छैन ।

कम्युनिस्ट पार्टीमा भने कोही पनि व्यक्ति पार्टी विधानभन्दा माथि हुन सक्दैन, मुख्य नेतृत्व पनि कमिटीको बहुमतको मातहत हुन्छ, सामूहिक नेतृत्व कम्युनिस्ट पार्टीको आदर्श हो भन्ने कुरालाई पनि ‘लाजिम्घाट’ तिलाञ्जली दिन चाहन्छ । पार्टी र नेतृत्वलाई एकअर्काबाट अलग गरेर व्यक्तिकेन्द्रित, व्यक्तिपूजक राजनीति र संस्कृतितर्फ जानबाट रोक्नुपर्छ भन्नेमा पनि उति चासो छैन । जनवाद भनेको स्वतन्त्रता र केन्द्रीयता भनेको आवश्यकता हो । आवश्यकतामाथि एकतर्फी जोड दिन पनि हुँदैन । पार्टीभित्रै जनवादको अभ्याससम्बन्धी तीता अनुभूतिहरू हुनु राम्रो होइन । भिन्न मत पार्टी सपार्ने सूत्र र विचारको विकास गर्ने हतियार मानिन्छ । पार्टीको अन्तरसंघर्षलाई व्यवस्थित गर्न नसक्दा पार्टी फुट र विभाजनको सँघारमा जान्छ । पार्टीलाई फुटबाट जोगाउने हो भने अन्तरपार्टी जनवादको अभ्यास चाहिन्छ । यता पनि ‘लाजिम्घाट’ले मतलव नै दिन्न । अब निकास यिनै मुद्दाको जगमा खोज्ने वा धोबीघाट वा अरू कुनै घाटमा पुर्‍याएर पार्टीको अस्तित्व समाप्त पार्ने माओवादी नेताकै हातमा छ । जय होस् माओवादी कमरेडहरूको । – नयाँपत्रिका दैनिकबाट साभार

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us