मध्य भोटेकोसीको सिभिल कार्यको ठेक्का सम्झौता

काठमाण्डु टुडे २०७० पुष २३ गते ३:४९ मा प्रकाशित

चौतारा, २३ पुस–सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी आयोजनाको सिभिल र हाइड्रो मेकानिकल काम सुरु भएको छ । चिनियाँ कम्पनी ग्वाङ्सी इन्टरनेसनल कर्पोरेसन र आयोजनाबीच यही पुस १७ गते आठ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएपछि सुरुङ लगायतको कामसमेत सुरु भएको हो ।

उक्त आयोजनालाई आवश्यक पर्ने कुल ३५५ रोपनी जग्गामध्ये हालसम्म २२५ रोपनीको क्षतिपूर्ति  वितरण भइसकेको छ । मार्मिङ गाविसको चाकुखोला दोभानमा निर्माण हुने बाँध र गाती गाविसको जम्बुमा निर्माण गरिने विद्युतगृहका लागि कुल ३५५ रोपनी जमिन आवश्यक पर्दछ । तर, दुवै स्थानमा ६८ घरटहरा पर्दछन् ।

सोमबारसम्म १७ करोड २६ लाख मुआब्जा वितरण भइसकेको छ । अब करिब २० करोड मुआब्जा वितरण गर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिए । आयोजनाका लागि परीक्षणका रुपमा २५० मिटर सुरुङ मार्ग निर्माण भइसकेको छ ।

मङ्सिरमा उत्पादन अनुमति पाइसकेको आयोजनाको मुख्य संरचनाको काम आगामी वैशाखबाट थालनी हुने बताइएको छ । सुक्खायाममा आठ करोड ३७ लाख युनिट र बर्खायाममा ४५ करोड ८६ लाख युनिट विद्युत् निर्माण हुने सो आयोजनाबाट वार्षिक बिक्रीयोग्य विद्युत् ५४ करोड २३ लाख युनिट उत्पादन हुनेछ ।

चौध अर्बको लागतमा निर्माण हुने सो आयोजनाका लागि कर्मचारी सञ्चय कोषबाट ६ अर्ब रुपैयाँ ऋण सम्झौता भइसकेको छ । मार्मिङ गाविसको चाकु खोला र भोटेकोसी नदीको दोभानमा बाँध बाँधी ७ किलोमिटर १२४ मीटर सुरुङबाट गातीको जम्बुमा निर्माण हुने विद्युत्गृहमा पानी खसालिनेछ । अरनिको राजमार्गको सुविधाप्राप्त आयोजनास्थलमा ७५० मिटर मात्र सडक निर्माण गरे पुग्दछ । चिलिमेको अगुवाइमा निर्माण हुन लागेको सो आयोजना सन् २०१६ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us