नीलगिरि बैंकले १४ प्रतिशत लाभांश दिने

काठमाण्डु टुडे २०७० पुष २३ गते २:११ मा प्रकाशित

बेनी, २३ पुस–म्याग्दी सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको नीलगिरि विकास बैंकलाई नेपाल राष्ट्र बैंकले १४ प्रतिशत लाभांश वितरण गर्न अनुमति दिएको छ । सञ्चालक समितिले गरेको चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

राष्ट्र बैंकको अनुमतिपछि यसै हप्ता हुन लागेको बैंकको सातौं वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरिने बैंकका वरिष्ठ अधिकृत अनुमान श्रेष्ठले जानकारी दिए ।

सञ्चालक समितिले सञ्चित मुनाफाबाट करसहित १४ प्रतिशत हुन आउने ८० लाख ५० हजार रुपैयाँ सेयरधनीहरुलाई वितरण गर्न राष्ट्र बैंकसँग अनुमति मागेको थियो ।

सो बैंकले बेनीको केन्द्रीय कार्यालयका साथै दरवाङ, बाबियाचौर, भुरुङ तातोपानीको शाखा र गलेश्वरको एक्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिदै आएको छ । बैंकले गत आर्थिक वर्षमा ६५ करोड ६८ लाख ५६ हजार ३१५ रुपैयाँ निक्षेप सङ्कलन र ४६ करोड ४५ लाख ५६ हजार १९ रुपैयाँ कर्जा लगानी गरेको थियो ।

यसैबीच बैंकले चालु आर्थिक वर्षमा चुक्ता पुँजी वृद्धि गरी १० करोड पुर्‍याउने भएको छ । पाँच करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेकामा हकप्रद सेयर जारी गरी आगामी हप्तासम्ममा १० करोड पुर्‍याउन लागिएको हो । चुक्ता पुँजी वृद्धिका लागि बैंकले आर्थिक वर्ष २०६८/६९ सम्मको  मुनाफाको प्रतिसेयर १५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us