अमेरिका र क्यानडामा अत्यधिक चिसो, १६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २२ गते २:५४ मा प्रकाशित

us_snow_dogकाठमाण्डु, २२ पुस– ध्रुविया चक्रवातका कारण संयुक्त राज्य अमेरिका र उत्तर अमेरिकाका विभिन्न भागहरुको मौसम असामान्य रुपमा चिसिएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाका केहि भागमा २ फिटसम्म हिउँ जमेको छ । केहि दिन यता जाडोका कारण उत्तर अमेरिकामा १६ जनाको मृत्यु भईसकेको छ ।

यस हप्ता मात्र उत्तर अमेरिकामा ३ हजार ७ सय हवाई उडान स्थगित भएका छन् । अमेरिकाको सिकागोमा सोमबार विद्यालयहरु बन्द गरिएको छ । स्थानीय प्रशासनले मानिसहरुलाई अत्यधिक चिसोका कारण घरबाट बाहिर ननिस्कन सल्लाह दिएको छ ।

क्यानाडाको टोरन्टमा एयरपोर्टको रन वेमा बरफ जमेका कारण अमेरिकाको न्युयोर्ककालागि उड्न लागेको एउटा विमान चिप्लिएको बताइएको छ । तर घटनामा कोेहि हताहत भएको खबर भने आएको छैन ।

ज्यादै नै चिसो हावा चल्न थालेपछि मध्य र उत्तरी अमेरिकाका केहि भागहरुमा माईनस ५१ डिग्रि बराबरको जाडो अनुभव हुने मौसम विभागले जनाएको छ । ती क्षेत्रमा स्थानीय अधिकारीहरुले स्थानिय जनतालाई घर भित्रै रहन सुझाव दिएका छन् । उनीहरुको आफ्नै सुरक्षाकोलागि र हिउँले भरिएका सडक सफा गर्न यस्तो सुझाव दिईएको अधिकारीहरुले जनाएका छन् ।

क्यानाडाको न्यूफाउण्डल्याण्ड टापुमा अत्यधिक हिमपातका कारण ट्रान्सफर्मरमा आगो लागेपछि स्थानीय जनता अन्धकारमा रहन बाध्य भएका छन् । क्यानडामा टोरन्टोमा तापक्रमा माईनस २९ डिग्रिसम्म पुगेको छ भने क्युबेक सिटीमा त माईनस ३८ डिग्रीसम्म झरेको छ ।

अमेरिकाका न्युयोर्क र बोस्टन जस्ता शहरहरुमा पनि चिसोको निकै प्रभाव परेको छ । यी क्षेत्रहरुमा ४५ सेन्टीमिटरसम्म हिउँ जमेको छ । सन् १९९४ यता यो वर्ष सबैभन्दा जाडो भएको रिपोर्टहरुमा जनाईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us