तनावबीच बंगलादेशमा चुनाव, १५ को मृत्यु

काठमाण्डु टुडे २०७० पुष २१ गते १४:०४ मा प्रकाशित

ढाका, २१ पुस– बंगलादेशमा आइतबार प्रतिपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा हजारौँ प्रदर्शनकारीहरूले मतदान केन्द्रमा अग्निबम प्रहार गरे भने मुलुकभर फैलिएको हिंसामा १५ व्यक्तिको मृत्युभयो ।

प्रदर्शनकारीहरूले निर्वाचन बिथोल्न दुई सय भन्दा बढी मतदान केन्द्रमा आगो लगाउँदै मतपत्र जलाएपछि प्रहरीले गोली प्रहार गरेको थियो । उत्तरी जिल्लामा मतदान केन्द्र रक्षा गर्ने व्यक्तिहरू पनि थिए जसलाई कुटेर मारिएको थियो ।

उत्तरी बोग्रा जिल्लाका प्रहरी प्रमुख सयद अबु सयमले हजारौँ प्रदर्शनकारीले मतदान केन्द्रमा आक्रमण गरेको तथा प्रहरीमाथि पनि पेट्रोलबम प्रहार गरेको बताए ।

उनले परिस्थिति निकै तरल भएको बताउँदै मतमत्रमा आगो लगाइएको घटनाका बारेमा उल्लेख गरे । प्रायः व्यक्तिको मृत्यु प्रहरीको गोलीले भएको थियो भने एक चालकको मृत्यु निजको ट्रकमा पेट्रोलबम पर्दा भएको थियो ।

उत्तरी भागमा अवस्थित पार्वतीपुर नगरका प्रहरी प्रमुख मोकबुल होसेनले प्रदर्शनकारीले बन्दुकबाट तथा साना बमसमेत आक्रमण गरेकाले आफूहरू गोली चलाउन बाध्य भएको बताए । उनले यो समन्वयात्मक आक्रमण भएको र प्रदर्शनकारीले केही मतपत्र तथा आफ्नो हतियार पनि लुट्न प्रयास गरेको बताए ।

राजधानी ढाकामा हजारौँ प्रहरी तथा सेना सडकमा थिए भने नागरिकको उपस्थिति थिएन र मतदान केन्द्रहरूमा तीन पेट्रोल बम प्रहार भएको बताइएको छ । निर्वाचनसम्बन्धी घटनामा १५० व्यक्तिको मृत्यु भइसकेपछि मुलुकभर दशौँ हजार सैनिक तैनाथ गरिएको थियो र पनि रक्तपात देखियो ।

सत्ताधारी अवामी लिगले प्रमुख प्रतिपक्षी बंगलादेश नेसनालिस्ट पार्टीले हिंसा गरेको आरोप लगाउँदै यसका नेताहरूलाई घरमै हिरासतमा राखेको छ । यसअघिको निर्वाचनमा कामचलाऊ सरकारको गठन गरी निर्वाचन गरिन्थ्यो भने प्रतिपक्षले प्रधानमन्त्री सेख हसिनाले पनि त्यस्तै सरकार गठन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिपक्षले अनेकौँ साता घातक प्रदर्शन गरेका छन्, उनीहरूले यातायात बन्द गरेका छन् र हडतालका लागि आह्वान गरेका छन् । अधिकारीहरूले निर्वाचनमा मतदानको अवस्था नराम्रो भएको स्वीकार गरेका छन् । प्रमुख निर्वाचन आयुक्त काजी रकिबुद्दिन अहमदले धेरै दलहरूले निर्वाचन बहिष्कार गरेकाले मतदान कम भएको बताए ।

आठ घण्टासम्म मतदान भएपछि मतकेन्द्र अपरान्ह चार बजे बन्द भयो । त्यसपछि मतगणता छिटै आरम्भ भएको छ र अन्तिम नतिजा सोमबार बिहानसम्म आउने अपेक्षा गरिएको छ ।

एएफपीका समाचारदाताले मतदानका लागि मतदाताको लाइन नदेखिएको बताए भने स्थानीय टेलिभिजनले एक मतदान केन्द्रमा तीन घण्टामा एक व्यक्तिले मात्र मत दिएको देखिएको जानकारी दिएको छ । यस निर्वाचनको नतिजा स्पष्ट भएको छ र तीन सय संसदीय स्थानमध्ये केबल १ सय ४७ स्थानमा मतदान भइरहेको छ ।

बाँकी १ सय ५३ स्थानमा अवामी लिग तथा उसका सहयोगी दलले बिजय हासिल गर्ने निश्चित छ । हसिनाको सरकारले संसदको पाँच वर्षे पदावधि सम्पन्न भएकाले निर्वाचन गरिएको दाबी गरेका छ । सत्ताधारी पार्टीका वरिष्ठ नेता तोफाएर अहमदले यो प्रजातन्त्रको विजय भएको दाबी गरे ।

बीएनपीका नेता खालेदा जियालाई एक सातादेखि घरमै सीमित गरिएको छ र उहाँले निर्वाचन हाँसो भएको बताए । विश्लेषकहरूले यस निर्वाचनले हिंसा बढाउने धारणा व्यक्त गरेका छन् । विश्वको आठौँ सबैभन्दा अधिक जनसंख्यायुक्त मुलुक बङ्गलादेश एसियाको गरिब मुलुकमध्ये एक हो र यहाँ समस्या बढ्दा १५ करोड ४० लाख जनताको जीवन सुधार्ने प्रयासमा अझै समस्या थपिने छ ।

बङ्गलादेशका एक तिहाइ जनता अझै गरिबीको रेखामुनी रहेका छन् । एक स्थानीय अधिकारवादी समूहले सन् २०१३ मा पाँच सय भन्दाबढी व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

प्रमुख इस्लामी दललाई यस निर्वाचनमा भाग लिन दिइएको छैन । अमेरिका, युरोपेली महासङ्घ तथा राष्ट्रमण्डलले यस निर्वाचनमा आफ्नो पर्यवेक्षक पठाउन अस्वीकार गरेका छन् । यस मुलुकले सन् १९७५ देखि २० पटक सैनिक विद्रोह भोगेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us