चुनाव अघि बंगलादेशमा आम हड्ताल

काठमाण्डु टुडे २०७० पुष २० गते ८:५९ मा प्रकाशित

ढाका, २० पुस– बंगलादेशमा शनिबार निर्वाचन पूर्व विपक्षी दलले ४८ घण्टे आमहडतालको घोषणा गरेको छ ।

बंगलादेश नेसनालिस्ट पार्टीले शनिबारको निर्वाचन बहिष्कार गरी निर्वाचन रोक्न आम हड्तालको घोषणा गरेको हो ।

बीएनपीका नेता खालेदा जियालाई सरकारले घरैमा नियन्त्रणमा राखेको छ र उनले यो निर्वाचन निन्दात्मक नाटक भएको बताउँदै यसलाई पूर्ण रूपमा बहिष्कार गर्न मतदातालाई आग्रह गरेकी छन् ।

निर्वाचनको प्रक्रियामा बंगलादेशमा हिंसा देखिएको छ भने अक्टोबरदेखि निर्वाचनसँग सम्बन्धित हिंसामा १ सय ५० व्यक्तिको मृत्युभएको छ । पर्यवेक्षकहरूले बंगलादेशमा नयाँ अस्थिरता उत्पन्न हुने आशंका गरेका छन् ।

गत १२ महिनाको समय बंगलादेश सन् १९७१ मा पाकिस्तानविरुद्धको स्वतन्त्रताको युद्धपछि सबैभन्दा घातक बनेको देखिएको छ । बंगलादेशको सरकारले प्रतिपक्षी नेता जियालाई हिरासतमा राखिएको कुरालाई आधिकारिक रूपमा बताउन सकेको छैन । उ

नका सहयोगीहरूले उहाँलाई एक सातादेखि आफ्नो घरबाट बाहिर जान रोकिएको बताएका छन् । शनिबार दर्जनौँ दङ्गा प्रहरी उहाँको घरबाहिर देखिएका छन् । त्यहाँ पानीको फोहरा तथा बालुवाका ट्रकहरू राखिएका छन् । नियन्त्रणमा राखिएपछि पहिलो सार्वजनिक टिप्पणीमा जियाले सरकारले आफूलाई प्रभावकारी रूपमा घरमा नियन्त्रणमा राखेको, आफ्नो घर सुरक्षा तथा गुप्तचरहरूले बन्द गरिदिएको बताए ।

निर्वाचनलाई निष्पक्ष कामचलाऊ सरकारले सञ्चालन गर्नुपर्छ भन्ने मागलाई प्रधानमन्त्री हसिनाले अस्वीकार गरेपछि बीएनपी तथा अन्य २० दलले निर्वाचन बहिष्कार गरेका छन् । यस्ता आमहडतालका कारण बंगलादेशमा विद्यालय, कार्यालय तथा पसलहरू बन्द भएका छन् । गाडी तथा बसमा अग्निबम प्रयोग भएपछि बंगलादेशका नागरिक बन्दको समयमा घर छोड्न डराएका छन् ।

प्रहरीले विपक्षका १२ सय कार्यकर्ता हिरासतमा लिइएको जानकारी दिएको छ । यी दलहरूले यसरी हिरासतमा राखिएको कार्यकर्ताको संख्या निकै अधिक रहेको बताइएका छन् । निर्वाचनका लागि मुलुकभर ५० हजार सैनिक तैनाथ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूले गत २४ घण्टाको समयमा कम्तीमा १० वटा मतदान केन्द्रमा आगो लगाइएको उल्लेख गरेका छन् ।

अमेरिका, युरोपेली महासङ्घ, राष्ट्रमण्डलले निर्वाचनको अनुगमन गर्न अस्वीकार गरेका छन् । प्रतिपक्षले निर्वाचनको विश्वसनीयता नभएको बताएका छन् । अवामी लिगका उम्मेदवार वा उनीहरूका सहयोगीहरू ३०० संसदीय स्थानमध्ये १५३ स्थानमा निर्विरोध भएको देखिएको छ । प्रधानमन्त्री हसिनाले निर्वाचन पछि सार्ने सबै मागलाई अस्वीकार गरेका छन् ।

उनले निर्वाचनको संरचनामा मतैक्यता हुनुपर्ने र जिया द्वन्द्वको मार्गमा गएको आरोप लगाए । प्रधानमन्त्री हसिनाका वरिष्ठ विदेश नीति सल्लाहकार गोवेर रिज्वीले संसदीय अवधि सम्पन्न भएकाले निर्वाचन गराउनुको विकल्प नभएको बताए । बीएनपीका उपाध्यक्ष शमशेर चौधरीले नयाँ निर्वाचनका लागि हसिनाले पद छोड्नुको अन्य कुनै विकल्प नभएको बताए ।

शुक्रबार प्रकाशित एक अभिमत सर्वेक्षणको नतिजामा बीएनपीले आउँदो निर्वाचनमा अवामी लिगलाई झिनो मतले पराजित गर्ने र ७७ प्रतिशत मतदाता यस निर्वाचनको विरोधमा रहेको देखिएको छ ।

२०१३ मा बंगलादेशमा राजनीतिक हिंसामा पाँचसय व्यक्तिको मृत्यु भइसकेको स्थानीय अधिकारवादी कार्यकर्ताहरूले बताएका छन् । न्यु योर्कमा केन्द्रीय कार्यालय रहेको वकालत समूह ह्युमन राइट्स वाचले अराजकताका लागि दुबै पक्ष जिम्मेवार भएको आरोप लगाएको छ । बंगलादेशमा प्रमुख इस्लामी दल जमात–ए–इस्लामीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लागेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us