‘घाइते सैनिकको अवस्था सामान्य’

काठमाण्डु टुडे २०७० पुष १९ गते १०:२४ मा प्रकाशित

काठमाण्डु, १९ पुस – द्वन्द्वग्रस्त दक्षिण सुडानमा शान्तिकार्यमा परिचालित नेपाली शान्ति सैनिकमध्ये घाइते भएका चारजनाको अवस्था सामान्य रहेको र त्यहाँ तैनाथ इन्द्रबक्स गण दृढतापूर्वक कार्य क्षेत्रमा सँलग्न रहेको जंगी अड्डा, सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यही पुस ९ गते नेपाली शान्ति सेना रहेको छाउनीमा भएको विष्फोटमा परी घाइते भएका सेनानी अमृत घले, जमादार  विष्णु भण्डारी र प्यूठद्वय पाण्डव राई र राजु केसीको अवस्था अहिले सामान्य रहेको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए ।

सबैभन्दा गम्भीर घाइते भएका प्यूठ आलेको युगाण्डाको राजधानी कम्पालास्थित राष्ट्रसङ्घीय अस्पतालमा र बाँकी तीन जनाको दक्षिण सुडानकै राजधानी जुवास्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले जानकारी दिए ।

सबै घाइतेको अवस्थामा सुधार आएकोले उनीहरु चाँडै काममा फर्कने अपेक्षा गरिएको पोखरेलको भनाई छ । विष्फोटमा परी नेपाली शान्ति सेनाका केही सवारी साधन, पानी प्रशोधन गर्ने यन्त्र र केही भौतिक पूर्वाधार क्षतिग्रस्त भएको पनि उनले बताए ।

दुई वर्षअघि दक्षिण सुडानका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली शान्ति सैनिक परिचालन गरिएको छ । हाल त्यहाँ महासेनानीको नेतृत्वमा आठसय ५० जना नेपाली सैनिक कार्यरत छन् ।

केही समयदेखि दक्षिण सुडानमा फैलिएको जातीय द्वन्द्वमा परी झण्डै एकहजार जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us