बंगलादेशमा आइतबार निर्वाचन

काठमाण्डु टुडे २०७० पुष १९ गते ९:४२ मा प्रकाशित

ढाका, १९ पुस– बंगलादेशमा आउँदो आइतबार आमनिर्वाचन हुँदैछ । तर विपक्षीदलहरुले सो निर्वाचन बहिस्कार गरेका कारण थप हिंसा हुनसक्न आशंका गरेका छन् । विगतका केही महिनादेखि यस्तो हिंसा जारी नै रहेको छ ।

सरकारले सोही हिंसाकै बीचमा यही जनवरी पाँचका लागि निर्वाचनको घोषणा गरेको छ । तर सो निर्वाचनमा प्रमुख विपक्षी दलको बहिस्कारका कारण उक्त निर्वाचनमा हिंसा हुनसक्ने आशङ्का गरिएको छ । विपक्षीहरुलाई निर्वाचनमा ल्याउने सरकारी प्रयास भने असफल भइसकेको छ ।

निर्वाचनका लागि भइरहेका सर्वेक्षणहरुले पनि अधिकांश नागरिक निर्वाचनका विपक्षमा रहेको देखाएका छन् । केही दिनमात्र अघि राजधानी ढाकामा गरिएको एक यस्तै सर्वेक्षणले करिब ७७ प्रतिशत नागरिक नै निर्वाचनको विपक्षमा रहेको देखाएको थियो ।

प्रमुख विपक्षी दल बङ्गलादेश नेशनालिस्ट पार्टीले सो निर्वाचन बहिस्कार गरेको छ । उसको आह्वानमा नै अरु पनि कयौँ दलले सो निर्वाचन बहिस्कार गरेका छन् ।

सर्वेक्षणहरुले आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको सत्तारुढ दल अवामी लिगले निकै झिनो अन्तरले मात्र निर्वाचन जित्नेजस्तो देखाएको पनि बताइएको छ ।

विपक्षीहरुले निर्वाचन रोकेर वर्तमान प्रधानमन्त्रीले राजिनामा नदिएसम्म प्रस्तावित निर्वाचनमा नजाने अडान लिँदै आएको छ । तर प्रधानमन्त्री शेख हसिनाले भने सरकारले कुनैपनि हालतमा निर्वाचन नरोक्ने बताउँदै आएकी छन् ।

बिहीबारमात्र पनि उनले एक टेलिभिजनबाट सार्वजनिक गर्नुभएको मन्तव्यमा सो भनाई राखेकी थिइन् । उहाँले विपक्षीहरूले आन्दोलनका नाममा देशलाई बन्धक बनाएको आरोप लगाएकी छन् । उनले निर्वाचन नरोकिने भन्दै सहभागिताका लागि आह्वान गर्नुभएको छ ।

बंगलादेशका विपक्षी दलहरूले आन्दोलन जारी नै राखेका छन् । सो आन्दोलनका कारण गएको दुई महिनामा मात्र एकसय ४० जनाको ज्यान गइसकेको छ । यो वर्ष बंगलादेशमा विगत लामो समयदेखि हिंसा जारी रहेको छ ।

उक्त र्‍यालीपछि पनि देशमा हिंसाको बिजारोपण हुनसक्ने आशंकामा प्रहरीले विगतका केही दिनदेखि निर्वाचनको कारण देखाएर विरोध प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।

विपक्षीहरूले प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुपर्ने र आगामी जनवरीमा आह्वान गरिएको निर्वाचन स्थगित गर्नुपर्ने माग गरिरहेका छन् । सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्ध अपराध गरेको आरोप प्रमाणित भएपछि बङ्गलादेशका केही नेतालाई मृत्युदण्ड दिइएको छ ।

अरु पनि केही नेतालाई त्यस्तो कारबाही हुनसक्ने बताइएको छ । सोही कारबाहीपछि बंगलादेशको विपक्षीले आन्दोलन सुरु गरेको हो । आन्दोलनकै क्रममा सरकारले नयाँ निर्वाचनको घोषणा गरेको हो ।

जारी आन्दोलनबाट प्रहरीले हस्तक्षेप गरी ठूलो संख्यामा कार्यकर्ता पक्राउ गरेको छ । विपक्षी र सरकारको यो पछिल्लो निर्णयका कारण पनि हिंसाको आशंका गरिएको छ । यसरी सत्तारुढ र विपक्षी दलको दाउपेचका रुपमा आम निर्वाचनको आह्वान गरिएकोले निर्वाचनका समयमा हिंसा हुनसक्ने आशंका पनि गरिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us