कोइराला र देउवा दरबारको हुकुम प्रमाङ्गीबाट सभासद चयन भयो : गगन

काठमाण्डु टुडे २०७० पुष १८ गते ११:३७ मा प्रकाशित

Gagan-Thapaकाठमाण्डु, १८ पुस– नेपाली कांग्रेसका नेता गगन थापाले समानुपातिक सभासद चयन पाटी भित्र छलफल नभइ महाराजगञ्ज दरबार र बुढानिलकण्ठ दरबारी मोर्चाको हुकुम प्रमाङ्गीबाट भएको आरोप लगाएका छन् ।

काठमाण्डुमा भएको कार्यक्रममा थापाले पार्टीले निर्णय नगरी निरंकुश शैलीमा पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले सभासद चयन गरेको आरोप लगाए ।

उनले कांग्रेसभित्र समानुपातिक सभासद चयनमा ४० र ६० प्रतिसतको भागबण्डा पहिला नै भईसकेकाले सभासद चयनमा भन्दा पनि गुट भित्रका उपगुटहरुबीच सभासद बाँडफाँडको विषयलाई लिएर ढिला भएको बताए ।

थापाले यस्तै हो भने अव समानुपातिक प्रणालीको औचित्य नभएको स्पष्ट पारे । ‘नेताहरुले पार्टी नै चलाउन जान्नु भएन, जसको मुल्य लोकतन्त्रले चुकाउनु परेको छ ।’ थापाले भने, ‘अझै समानुपातिक निर्वाचन प्रणालीले त दल सञ्चालन र लोकतन्त्रमा झनै ठूलो समस्या ल्यायो । अब यो प्रणालीको अन्त्य गर्नु पर्छ ।’

थापाले १ वर्षभित्रमा संविधान निर्माण र स्थानीय निकायको निर्वाचन नगरे नेताहरुको दास भएर पार्टीमा बस्नुको औचित्य नहुने बताएका छन् । नेताहरुले जे गर्छन् त्यसमा ताली पड्काएर मात्रै बस्नुको औचित्य नभएको भन्दै थापाले युवाहरुले नयाँ ढंगबाट सोच्नुपर्ने बताए ।

उनले समानुपातिक निर्वाचन प्रणालीको साटो प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेशी गर्ने निर्वाचन प्रणाली खोज्नु पर्ने भन्दै आगामि संविधानमा समानुपातिक प्रणाली लेखिए त्यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुने बताए ।

थापाले पार्टीभित्र न्याय गर्न नसक्ने नेताहरुले सहमतिको राग अलाप्न नहुने तर्क गर्दै १ वर्षभित्र सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्नु पर्ने जिकिर गरे । पार्टीसँग पैसामा सभासद किनेका र आफ्न्त भएकाले सभासद बनेकाहरुवीच आफू बसेर संविधान निर्माणमा बहस गर्नु लाजमर्दो अवस्था भएको समेत गुनासो साक्षात्कारमा गरे ।

उनले संसदीय समितिमा सहमति गर्ने, केन्द्रीय समितिमा मौन बस्ने अनि बाहिर सञ्चारमाध्यममा आफ्नो असहमति जनाएको भन्दै पार्टीको नेताको त्यस्तो चरित्र प्रति आक्रोस समेत ब्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us