
काठमाण्डु, १८ पुस – एकीकृत माओवादीका नेता गोपाल किराँतीले पाटी फुटाउन नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई चुनौति दिएका छन् ।
समानुपातिक सूचीप्रति अशन्तुष्टि व्यक्त गर्दै आएका भट्टराई र श्रेष्ठले पार्टी फुटाए आफूले त्यसको स्वागत गर्ने उनको भनाई छ । रिपोटर्स क्लवले विहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा किराँतीले सार्वजनिक भैसकेको सूची सच्याउन नमिल्ने बताएका छन् ।
‘सूची बनाउन बैठकमा नजाने, बाहिस्कार गर्ने अहिले सार्वजनिक भइसकेपछि सच्याउन सकिँदैन । यसैलाई लिएर पार्टी फुटाए हुन्छ, उनले भने, ‘म फुटाउनेलाई स्वागत गर्छु, फुटेरै जानेलाई नजाउ भनेर डोरीले बाधेर राख्न सकिँदैन ।’
किराँतीले भट्टराई र श्रेष्ठले प्रचण्डको मृत्युमा आफ्नो जीवन खोज्ने गरेको आरोपसमेत लगाएका छन् । ‘एमाओवादी धेरै वर्ष अन्र्तसंघर्षमा रहँदा संविधान बनाउन सकेनौं, भट्टराईले भने, ‘अन्तरसंघर्षको नाममा पार्टीलाई हैरान पार्ने काम पहिलेदेखि नै हुँदै आएको छ, अव यो सहिन्न ।’
आगामी पुस २५ गते बस्ने केन्द्रीय समितिको बैठकले यो विषयमा छलफल गरेर पार्टीलाई रुपान्तरण र एकताको प्रयास गर्ने भन्दै उनले त्यसपछि पनि फुटेर जानेलाई नरोक्ने बताए ।
शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यलाई अघि बढाउन दर्जन कमजोरी भए पनि जनयुद्धको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्डको नेतृत्व अझै आवश्यक रहेको उनको तर्क छ ।
किराँतीले भट्टराई र श्रेष्ठको अहिलेको रंडाको योजनाबद्ध भएको दावी गर्दै ५४ जनाको सूची बहाना मात्रै भएको ठोकुवा गरे ।