
काठमाण्डु, १८ पुस – एकीकृत नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सभासदहरुको नामावली सच्चिने सम्भावना न्यून बनेको छ ।
नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको अशन्तुष्टिका बाबजुत पनि एमाओवादीले सूची नसच्चिने सम्भावना बढेको हो ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीले सूची सच्याउने सम्भावना कम रहेको बताएका छन् । ‘उहाँहरु छलफलमा नै आउनु भएको छैन, बोगटीले भने – ‘अब २–३ घण्टाको समयमात्रै बाँकी छ, त्यसैले सूची सच्चिने सम्भावना कम छ ।’
भट्टराई र श्रेष्ठको तर्फबाट कसलाई राख्ने कसलाई नराख्ने भन्ने विषयमा स्पष्ट प्रस्ताव नै नआएको भन्दै बोगटीले समयमै ठोस प्रस्ताव ल्याएको भए सूची सच्चिन सक्थ्यो, भने ।
सभासद चयन प्रक्रियामा असहमति जनाउँदै आएका नेता भट्टराईले भने सूची सच्चिनेमा आशावादी रहेको बताएका छन् । ‘सूची सच्चिन्छ भन्ने हाम्रो विश्वास छ । अहिले नै सच्चिँदैन भनेर निश्कर्ष निकाल्नु उपयुक्त हुँदैन, भट्टराईले भने, ‘कथम कदाचित समाधान निस्केन, सूची सच्चिएन भने थप संघर्ष गर्छौं ।’
भट्टराई र श्रेष्ठले बुधबार नै अध्यक्षलाई २ बुँदे असहमति पत्र बुझाएका थिए ।
निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन दिएको समयसीमा साँझ ५ बजेबाट सकिँदैछ ।