आइजीपीलाई शक्तिशाली बनाउन नियमावली संसोधनको विधेयक समितिमा

काठमाण्डु टुडे २०७० पुष १८ गते ८:५९ मा प्रकाशित

singh durbarकाठमाण्डु, १८ पुस – बहिगर्मनको तयारीमा रहेको कामचलाउ सरकारले नेपाल प्रहरीमा दीर्घकालीन प्रभाव पर्ने गरी प्रहरी नियमावली संशोधन गर्ने तयारी गरेको छ ।

वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकारले यसअघिको बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा मस्यौदा तयार भएको नियमावली संशोधन गर्न लागेको हो ।

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७० आवश्यक परिमार्जन गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाएको छ । विधेयक समितिबाट सुझावसहित मन्त्रिपरिषदमा आएपछि त्यसलाई पारित गरिने सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।

नियमावलीमा प्रहरी महानिरीक्षक शक्तिशाली बनाउने प्रावधान छ । बरिष्ठ अधिकृतहरुको बढुवा र पुरस्कृत गर्ने मामलामा महानिरीक्षकको अधिकार रहन्छ ।

नियमावली संशोधन प्रस्ताव पारित भएमा त्यसअनुरुप प्रहरीभित्र बढुवा र वृत्ति विकाससम्बन्धी निर्णयहरु प्रभावित हुने स्रोतको भनाइ छ ।

सरकारले दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको परिवारलाई दिँदै आएको मासिक १० हजार रुपैयाँ राहतमा पाँच हजार थपेर १५ हजार पुर्याएको छ । आउँदो माघ एक गतेदेखि लागु हुने गरी कायस्थलाई मासिक १५ हजार रुपैयाँ राहत दिने सरकारका प्रवक्ता माधव पौडेलले जानकारी दिए ।

यसैगरी सरकारले दलित आयोगको अध्यक्ष पदबाट शम्भु पासवान हजारीले यही पुस १४ गते दिएको राजीनामा स्वीकृत पनि गरेको छ । मन्त्रिपरिषद बैठकले आउँदो माघ ६ गतेदेखि प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले गर्ने मालदिभ्सको भ्रमण स्वीकृत गरेको छ । उप्रेती स्थानीय परिषदको निर्वाचन अवलोकन गर्न मालदिभ्स जान लागेका हुन् ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवले आउँदो सोमबारदेखि गर्ने लण्डन भ्रमण पनि स्वीकृत गरेको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us