
मुगु, १८ पुस – मुगुका २४ वटा गाविसमध्ये आठ गाविसलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र पूर्ण साक्षर गाविस घोषणा गरिने भएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तभित्र जिल्लाका श्रीनगर, रुगा, रोवा, भिई, सेरी, रारा, किम्री र कालै गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयको समन्वयमा जिल्लामा शिक्षा क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंस्थाको नेतृत्वमा स्वेच्छिक अभियान सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
रुगा, रोवा र भिई गाविसमा असल छिमेकी नेपाल मुगु, सेरी र रारा गाविसमा हिरेण्डेक, श्रीनगर गाविसमा महाकाली उच्च मावि र श्रीनगर सामुदायिक अध्ययन केन्द्र, किम्रीमा युएमएन र कालै गाविसमा किर्डाक नेपालले नेतृत्व गर्ने छन् ।
नेतृत्वको जिम्मा लिएका संघसंस्थासँगै विद्यार्थी, शिक्षक सबैलाई परिचालन गरी असार १५ गतेसम्म जिल्ला शिक्षा कार्यालयमा तथ्याङ्क आइसकेपछि नजिकको विद्यालयमा परीक्षा सञ्चालन गरी पूर्ण साक्षर गाविस घोषणा गरिने मुगुका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले जानकारी दिए ।
पूर्ण साक्षर गाविस घोषणा गर्नका लागि विभिन्न चारवटा सूचक बनाइएको छ ।
एक देखि १०० सम्मका अङ्क लेख्न सक्ने, आफ्नो नाम लेख्न र हस्ताक्षर गर्न सक्ने, सामान्य हिसाब गर्न सक्ने र मोबाइलमा नम्बर डायल गर्न सक्ने सूचकहरु तयार पारिएको कार्यालयले जनाएको छ ।
यो अभियानमा १५ देखि ६० वर्षसम्मको उम्मेर समूहलाई केन्द्रित गरिने छ । पहिलो चरणमा आठ गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरेपछि बाँकी १६ गाविसलाई दुई चरणमा घोषणा गरिने गरी कार्ययोजना निर्माण गरिएको छ ।