
कीर्तिपुर, १८ पुस–काठमाण्डु दक्षिण भेगको सर्वाधिक उचाइमा रहेको चम्पादेवी डाँडामा चम्पादेवीको मन्दिर बन्ने भएको छ । मन्दिरको आवश्यकता लामो समयदेखि महसुस हुने गरेको भए पनि आर्थिक लगायतका विभिन्न कारणबाट हालसम्म पनि मन्दिर बन्न नसकेपछि चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको पहलमा मन्दिर निर्माण गर्न लागिएको हो ।
मन्दिर निर्माणका लागि विगतमा पनि विभिन्न रुपमा प्रयास गरिएको भए पनि हालसम्म मन्दिर नबनेका कारण मन्दिर निर्माणका लागि संस्थाका तर्फबाट पहल सुरु गरिएको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताए । मन्दिर निर्माणका लागि प्रारम्भिक पहल सुरु गरिएको जानकारी गराउँदै तामाङले २६ लाख रुपैयाँको अनुमानित लागतमा दुईतले प्यागोडा शैलीको निर्माणका लागि नक्सा तयार गरिसकिएको जानकारी दिए ।
चम्पादेवी डाँडामा चम्पादेवीको मन्दिर निर्माणका लागि विगतमा पनि चाल्नाखेल, शेषनारायण, डल्लुलगायत काठमाडौँ दक्षिण भेगका विभिन्न स्थानका स्थानीयवासीले सङ्गठित रुपमा प्रयास थालेको भए पनि मन्दिर निर्माण हुन नसकेको स्थानीयवासी बताउँछन् ।
चम्पादेवीमा शेषनारायण–८ डल्लुका स्थानीयवासीले चम्पादेवीको मुख्य शिला रहेको स्थानलाई विगतमा पर्खाल बनाएर बारेको थिए । डल्लु क्षेत्रबाट बर्सेनि वैशाख सङ्क्रान्तिका दिन चम्पादेवीमा नियमित पूजाआजा गर्नुका साथै लामो समयसम्म खडेरी परेको अवस्थामा डाँडामा नै पुगेर विशेष पूजाआजाका साथ पानी माग्ने प्रचलनसमेत रहिआएको छ ।
स्थानीयको अनुसार टौदहको पानी बोकेर चम्पादेवीमा पुर्याएर पानी मागेका अवस्थामा त्यही दिन पानी पर्ने गर्नुले यहाँको धार्मिक विशिष्टता मानिन्छ । सगरमाथासमेतको अवलोकन गर्न सकिने दुई हजार २५० मिटर उचाइको चम्पादेवीमा मन्दिर निर्माणका लागि काठमाण्डु दक्षिण भेगका ६ गाविस कार्यालय, कीर्तिपुर नगरपालिकाका साथै कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजलगायत सरोकारवालासँग समेत छलफल गर्न लागिएको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले जनाएको छ ।