ट्रकसँग ठोक्किएर कारमा सवार ९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष १८ गते ३:१२ मा प्रकाशित

काठमाण्डु, १८ पुस– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुरखण्डमा वुधबार राति कार र ट्रक आपसमा ठोक्किदा कारमा सवार ९ जनाको मृत्यु भएको छ । गएराति ९ बजे इलामबाट सिराहा तर्फ आउदै गरेको बा ८ च ४९८० नम्बरको मारुती भ्यानलाई ना २ ख ८८३४ नम्बरको ट्रकले हरिपुर–८ भान्टाबारी पेट्रोलपम्प अगाडि ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिराहा मिर्चैयाका २० बर्षीय संजिब शाह, ज्ञान कुमार शाह, ३० बर्षीय बिरेन्द्र शाह, १८ बर्षीय राजाराम शाह, १९ बर्षीय रामेश्वर शाह, २० बर्षीय रितेश शाह, २० बर्षीय मुकेश गुप्ता, १८ बर्षीय मोहन छपरीया र १९ बर्षीय सन्तोष नायक रहेका छन् । सबैको घटनास्थलमै मृत्यु भएको हो । ट्रकसँग ठोक्किएर कार एक सय मिटर दक्षिणतर्फ उछिट्टिएको थियो । शवहरु यत्रतत्र छरिएका थिए ।

दुर्घटनामा घाईते भएका कार चालक सोहि ठाउँका ज्ञान कुमार महतोकोे अवस्था गम्भीर छ । उनको इनरुवास्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकोलागि बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।

दुर्घटनालगत्तै ट्रक चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रहरी हबल्दारको मृत्यु

यसैबीच चितवनको रत्ननगरमा भारतिय ट्याङ्करको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी हवलदार जगत भण्डारी रहेका छन् ।

रत्ननगर शान्ती चोकमा गएराति ८ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतिय नम्बरकोे ट्याङ्करले बा ४६ प ७४९६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा भण्डारीको मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर चालक फरार रहेकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाँकेमा  एक युवकको मृत्यु

यसैगरी बाँकेको उढरापुर चोकमा बुधबार साँझ भएको माइक्रो बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दियाबाट नेपालगन्जतर्पm आइरहेको भे १ प १०९० नम्बरको माइक्रोबसले ठक्कर दिदा सोही ठाउँ निवासी २४ वर्षीय अमेरिकी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ । सडक अवरुद्ध गरेका मृतकका आफन्तलाई क्षतिपूर्ति दिने सहमतिमा फिर्ता पठाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us